दुर्गम गाउँ कुवाकोटमा उपचार सेवा लिन गाउँलेको भिड

सूर्यप्रकाश कँडेल

सोमबार, १३ माघ २०७६, १३ : ५०
दुर्गम गाउँ कुवाकोटमा उपचार सेवा लिन गाउँलेको भिड

नवलपुर । नवलपुरको विकट पहाडी क्षेत्रमा पर्छ बौदीकालि गाउँपालिका । यस गाउँपालिकाको वडा नम्बर चारमा छ कुवाकोट गाउँ । जनजातिको बाहुल्य बसोबास रहेको यस गाउँका बासिन्दाले उपचारको लागि अस्पतालको मुख हेर्न ठूलै लेठा बेहोर्नु पर्छ । अस्पतालका डाक्टरलाई यही गाउँमा लगेर आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा उपचार सेवा लिन गाउँलेको भिड जम्मा भयो ।

चौधरी उद्योगको आयोजनामा सम्पन्न स्वास्थ्य शिविरमा उपचार सेवा दिन पुगेका थिए चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरको चिकित्सक टोली । उनीहरुको साथमा प्राथमिक स्वास्थ्य केन्द्र बौदीकालि र नवलपुर जिल्ला अस्पतालका चिकित्सकहरुको अर्को टोली पनि थियो । बौदीकालि गाउँपालिकाले शिबिरमा विशेष सहयोग गरेको थियो । 

सिजीको समाजसँग सहकार्य अभियान अन्तर्गत बौदीकालि गाउँपालिकाको कुवाकोटमा स्वास्थ्य शिविर आयोजना गरिएको चौधरी उद्योगका महाप्रबन्धक रामकाजी सिटौलाले बताए । स्वास्थ्य शिविरमा स्थानीयको उपस्थितिले आफूहरुलाई हौसला मिलेको र यस्तैखालका स्वास्थ्य शिविरलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने उनले बताए ।

उपचार सेवा लिन गाउँलेहरुको भिड नै उर्लिएको स्वास्थ्य शिविरमा चार सय १३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । निःशुल्क भिडियो एक्सरे मेसिनसहित बिशेषज्ञ चिकित्सकको टोलीबाट स्वास्थ्य परीक्षण हुने थाहा पाएपछि चार घण्टा पैदल हिँडेर समेत स्थानीयवासी स्वास्थ्य शिविरमा आएका थिए । 

आफ्नै गाउँमा ठुला डाक्टर आउने खबर सुनेर म पनि जँचाउन आएँ, स्वास्थ्य परीक्षण गराएर फर्कंदै गरेका स्थानीयवासी ८४ वर्षीय रिमबहादुर खरुमगरले भने, डाक्टरले दमको व्यथा रैछ भनेर दबाई दिए । शिशिरमा स्वास्थ्य जाँच गराएका बिरामीहरुलाई शल्यकृया गर्नु पर्ने देखिए भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले २५ प्रतिशत छुट दिने भएको छ । शिविरमा जँचाएको कागजसहित जाने बिरामीले २५ प्रतिशत छुटमा उपचार पाउने ब्यवस्था मिलाइएको चौधरी ग्रुपका महाप्रबन्धक सिटौलाले जानकारी दिए । 

शिविरका लागि जोखिमपूर्ण यात्रा

कुवाकोट गाउँमा पुुग्नको लागि झ्यालबासहुँदै ४ घण्टा र दलदलेहुँदै करिब ५ घण्टा गाडीमा जोखिमपूर्ण यात्रा गर्नु पर्ने हुन्छ । शिविरका लागि चिकित्सक टोली र आयोजकले यही बाटो जोखिमपूर्ण यात्रा तय गरेर शिविरलाई सफल बनाए ।

स्वास्थ्य उपचारको पहँुचबाट टाढा रहेका सर्वसाधरणलाई लक्षित गरी दुर्गम गाउँमा शिविर संचालन गरिएको आयोजकको भनाइ छ । सवारीको सहज पहुँच हुने स्थानमा यस्ता निःशुल्क शिविर आयोजना गरिए पनि विकट क्षेत्रमा भने निकै कम मात्रामा हुने गरेकाले जोखिम मोलेरै पनि गाउँलेलाई उपचार सेवा दिइएको चौधरी उद्योगले जनाएको छ । 

गाउँमै विशेषज्ञ डाक्टर भिडियो एक्सरेसहित बिरामीको उपचार गर्न आइपुगेपछि त्यस भेगका सर्वसाधारण खुसी देखिन्थे । स्वास्थ्य शिविरमा हाडजोर्नी, नशा, पेट, छाती, बालरोग, स्त्रीरोग विशेषज्ञ डाक्टरहरु सहभागी थिए । 

शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरुलाई औषधि निःशुल्क वितरण गरिएको थियो । बिरामीको रगत परीक्षण अन्तर्गत आवश्यक विभिन्न परीक्षणका साथै एचआईभीको परीक्षण समेत गरिएको थियो । शिविरमा पूर्वसभासद महेन्द्रध्वज जिसी, बौदीकालि गाउँपालिका अध्यक्ष दुर्गाबहादुर राना, चौधरी उद्योगका कर्मचारी लगायतको सकृय सहभागिता रहको थियो ।

प्रतिक्रिया दिनुहोस