६ हजार रुपैयाँ धरौटी तिरेर सांसद दीपक मनाङ्गे रिहा, एन्फा अध्यक्ष गुरुङमाथि ठगी मुद्दा चल्ने

सफल खबर संवाददाता

आइतबार, १२ माघ २०७६, १८ : ३५
६ हजार रुपैयाँ धरौटी तिरेर सांसद दीपक मनाङ्गे रिहा, एन्फा अध्यक्ष गुरुङमाथि ठगी मुद्दा चल्ने

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीमा ६ हजार रुपैयाँ धरौटी तिरेर गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गे रिहा भएका छन् ।  

जिल्ला फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको भोलिपल्ट पक्राउ परेका उनीमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो ।

गण्डकी प्रदेशमा पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटनपूर्व मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका थिए । मनाङेले झापड हानेको पत्रकार सम्मेलन गरेर स्वीकार समेत गरेका थिए । मिलन गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । 

त्यस्तै एन्फा अध्यक्ष मिलन गुरुङमाथि ठगी, चेक बाउन्स र व्यापारीमाथि कुटपिट तथा असुली गरेको अभियोगमा मुद्दा चल्ने भएको छ । अहिले गुरुङ पनि बैकिङ कसुरको ठगी सम्बन्धि मुद्दामा हिरासतमा छन् । उनलाई थप एकहप्ताका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ । उच्च अदालत पोखराले प्रहरीलाई थप अनुसन्धान गर्न १० गतेबाट लागू हुने गरि थप एक हप्ताको म्याद दिएको उच्च अदालत पोखराका सुचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । 

गुरुङलाई विरुद्ध जिल्ला प्रहरी कार्यलयमा बैकिङ कसूरको उजुरी परे थियो । १० गते पोखराबाट पक्राउ परेका गुरुङको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए । ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस