तीन गोली लागेर बाँचेका सभामुख अग्नि सापकोटाका यस्ता छन् अबका चुनौतीहरु

सफल खबर संवाददाता

आइतबार, १२ माघ २०७६, १७ : २८
तीन गोली लागेर बाँचेका सभामुख अग्नि सापकोटाका यस्ता छन् अबका चुनौतीहरु

काठमाडौँ । नेकपाका सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुख बनेका छन् । सभामुखमा कसैले पनि उम्मेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित भए । आइतवार ज्येष्ठ सांसद महन्थ ठाकुरको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको थियो । 

सत्तारूढ दल नेकपाले गत माघ ५ गते सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोजको पहिलो साता राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखबिहीन बनेको थियो ।

को हुन् सापकोटा ?
सिन्धुपाल्चोकको कुभिन्डेमा २०१६ साल फागुन २४ गते जन्मिएका हुन् सापकोटा । बुबा धनपति सापकोटा र आमा तिलमाया सापकोटाबाट जन्मेका अग्नि लामो समय शिक्षण पेशामा आबद्ध भएका थिए । 

उनको शव्दहरु सापट लिने हो उनी १५ वर्षसम्म शिक्षण पेशामा आबद्ध रहे । ७ बर्ष सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माविको प्रध्यानाध्यापक भए। शिक्षण पेशाबाट राजिनामा गरेपछि उनी पूर्णकालीनरुपमा राजनीतिमा लागेका हुन् । 

०२९ सालमा कम्युनिस्ट विद्यार्थी संगठनमा आवद्ध भएका सापकोटाको औपचारिक अध्ययन समाजशास्त्रमा स्नातकोत्तरसम्म छ । ०३५ सालमा मोहन बैद्य नेतृत्वको नेकपा चौमको सदस्य भए । ०३७ सालमा उनी शिक्षक संघर्ष समितिको सदस्य भए । जिल्ला अध्यक्ष, हुँदै वामपन्थीहरुको साझा शिक्षक संगठनको महासचिवसम्म भए ।
दुई वर्ष जेलजीवन भोगेका अग्निले ०४८ सालमा संयुक्त जनमोर्चा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने पनि पराजित हुन पुगे ।  

शान्ति प्रक्रियापछि ०६४ र ०७० को संविधान सभा निर्वाचनमा दुई पटक जिते । उनले दुबै पटक सिन्धुपाल्चोकबाट जितेका हुन् । अग्निका श्रीमती र तीन छोरा छन् ।

प्रचण्डको विश्वासपात्र 
नेकपाका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्रको रुपमा अग्नि सापकोटालाई लिइन्छ । अग्नि सापकोटा जस्तोसुकै अवस्थामा पनि प्रचण्डको साथ छोडेनन् । यसपटक पनि प्रचण्डको अडानका कारण अग्नि सापकोटाले सभामुखको अवसर पाएका हुन् । 

०५१ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गर्दादेखि सापकोटा प्रचण्ड सँगसँगै छन् ।  १० बर्षे सशस्त्र जनयुद्ध, शान्ति प्रक्रिया, शान्ति प्रक्रियापछिको पार्टी टुटफुटमा उनी कतै गएनन् । प्रचण्डको साथमै बसिरहे । अग्निले आफूप्रति लगाएको गुण तिर्न नै प्रचण्डले यसपटक अग्निलाई सभामुख बनाउन चट्टानी अडान लिएका थिए । झलनाथ खनाल प्रधानमन्त्री हुँदा सापकोटा सञ्चार मन्त्री पनि प्रचण्डको जोडबलबाट भएका थिए ।

०७३ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सापकोटा वन तथा भूसंरक्षण मन्त्री थिए । दुईपटक मन्त्री हुने अवसर पाएका सापकोटालाई अहिले सभामुख हुने अवसर मिलेको छ । 

प्रचण्डले ०५८ सालमा सरकारसँगको दोस्रो वार्तामा सापकोटालाई पनि पठाएका थिए । तीन सदस्यीय वार्ता टोलीमा कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी पनि थिए । प्रचण्ड पटकपटक सिन्धुपाल्चोक जिल्ला जाँदा अग्नि सँगसँगै हुन्थे । २०६२ सालको ठोकर्पामा भएको भीडन्तमा मेरो शरीरमा एम १६ को ३ वटा गोली लागेको थियो । सापकोटाले आफ्नो परिचयात्मक भिडियोमा यो कुरा उल्लेख गरेका छन् । 

अग्निप्रसाद सापकोटाका अब चुनौती 

सापकोटाले नेपालको आठौं सभामुखका रुपमा जिम्मेवारी सम्हाल्नेछन्। तर उनका लागि संसद्को बैठक सन्तुलित ढंगले सञ्चालन गर्नु निकै चुनौतीपूर्ण छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया टुंगो लाग्न बाँकी रहँदा आन्तरिक सन्तुलन मिलाएर संसद् बैठक सञ्चालन गर्नु उनका लागि चुनौतीपूर्ण छ। त्यसका साथै प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्नु उनका लागि अझ कठिन छ।

संसद्मा पेस भएका कतिपय विधेयक विवादमा परेका बेला तिनलाई सुझबुझका साथ अघि बढाउने जिम्मेवारी पनि उनले पूरा गर्नुपर्ने छ। साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोलाई पनि उनले छिचोल्दै अघि बढ्नुपर्ने अवस्था छ। पटकपटक मन्त्रीको जिम्मेवारी सम्हाले पनि सभामुखजस्तो तटस्थ भूमिकामा रहनुपर्ने पदमा उनी पहिलो पटक आउँदैछन्।

उनले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा भित्री कुरा केके हुन्, केस्राकेस्रामा छलफल गराउन सक्नुपर्छ । जनप्रतिनिधिमूलक संस्थाप्रति सरकार जसरी उत्तरदायी बन्नुपर्ने हो, त्यसो हुन नसकेको अवस्थामा नयाँ सभामुखले दलीय नियन्त्रणभन्दा माथि रहेर महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस