दीपक मनाङेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १० माघ २०७६, १६ : २३
दीपक मनाङेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

कास्की । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । 

मिलनलाई ठगी मुद्दामा पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए । उनीविरुद्ध चेक बाउन्स र धाकधम्कीका उजुरी समेत रहेको बताइएको छ । 

यसअघि आफूलाई हातपात गरेको भन्दै गुरुङले दिएको उजुरीका आधारमा दीपक मनाङेलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो । मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन् ।

मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ । 

 

प्रतिक्रिया दिनुहोस