सचिवालयमै कमजोर परेपछि नेता फकाउँदै ओली

झलनाथलाई फकाउँदै ओली, बालुवाटारमा झण्डै ४ घण्टा छलफल, वामदेवसँग पनि छलफल गर्ने तयारी

सफल खबर संवाददाता

शुक्रबार, १० माघ २०७६, ११ : १५
सचिवालयमै कमजोर परेपछि नेता फकाउँदै ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओली पार्टीभित्रको समिकरणमा जहिल्यै आफु अनुकल बनाउन प्रयास गर्छन् । विगत देखिनै गुटको राजनीतिमा खेल्न माहिर मानिएका ओली पार्टीमा आफु कमजोर बन्ने अवस्था आउन नदिन सधैंजसो इतर पक्षमा बन्ने धुव्रिकरण र साँठगाँठलाई तोड्न सधै कोसिसमा हुने गर्छन् ।

पार्टीभित्र प्रधानमन्त्री ओलीको कार्यशैलीसँग असन्तुष्ट वरिष्ठ नेताहरुको साँठगाँठलाई उनले यस अगाडी एकपटक नेताहरुभित्रै खेलेर तोडन सफल भएका थिए । गत वर्षको माघ १० मा भएको झम्सिखेल गठबन्धनवाट अत्तालिएका प्रधानमन्त्री ओलीले त्यसबेलाको आफु इतर समुहको गठबन्धन भत्काउन नेताहरुकै बीचमा अनेक प्रलोभन देखाएर खेल्न सफल भए ।

उनले माधव नेपाललाई एक्लो बनाउन शुरुमा वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने देखि संगठन विभाग प्रमुख बनाउने सम्मका प्रस्ताव राखेर आफुतिर तान्ने प्रयास गरे । सोही अनुसार गौतमले संगठन विभागको जिम्मा पाईसकेका छन् भने दुवै अध्यक्ष नभएका बेला कार्यकारी अध्यक्षको समेत काम गर्न सक्ने गरि उपाध्यक्ष बनाउन गरेको प्रस्ताव पनि सचिवालय, स्थायी समितिमा पारित हुदै केन्द्रीय समितिमा आईपुगेको छ । 

माघ १५ बाट बस्न लागेको केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरेपछि विधान संसोधन गरेर गौतम नेकपाको उपाध्यक्ष बन्नेछन् । यो उनले त्यसबेला आफु इतर समुहमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्दय माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहितको बहुमत सचिवालय सदस्यको  गठजोड भत्काउन गरिएको प्रयास मध्येको एउटा कडी थियो । 

दोश्रो ओलीले पार्टी एकतापछि वरियतामा असन्तुष्ट रहदै आएका झलनाथ खनाललाई फकाउने अस्त्र प्रयोग गरे । एकताका क्रममा उनी आफैले खनाल विदेश गएका बेला माधव नेपाललाई अगाडी सारेर खनाललाई पेल्ने रणनीति लिएका थिए । त्यही अस्त्रलाई उनले औजार बनाई फेरि नेपाल खनाल भिडाउन उनले खनाललाई नै वरिष्ठ बनाउने प्रस्ताव अगाडी सारे । पहिले आफैंले गरेको निर्णय फेरि उल्टाउने प्रयास गरे । यो ओलीको खनाललाई फकाउने चालवाजी थियो । त्यसपछि उनले यी दुई कदम चालेर झम्सिखेल गठबन्धन भत्काएरै छोडे । 

पार्टीमा खनाल र गौतमलाई आफुतिर तान्न सफल भए । तर पनि उनको कार्यशैली सुधार हुन सकेन् । पार्टी र सरकारमा एकलौटी गर्न खोजेपछि फेरि पार्टीमा उनीसँग असन्तुष्ट नेताहरुको जमघट बाक्लिन थाल्यो । उनले अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मा दिन बाध्य हुन पर्यो । त्यसपछि पनि फेरि गौतम निवासमा २३ पुसमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमका बीचमा गठवन्धन बन्यो । सभामुख चयन प्रक्रियामा उनले आप्mना विश्वासपात्र सुवास नेम्वाङलाई बनाउन गरेको प्रयास असफल भयो ।

प्रचण्डको प्रस्तावमा अग्नि सापकोटालाई सभामुख बनाउन ओली तयार हुन बाध्य प¥यो । पार्टीभित्र ओली कमजोर बनेको त्यो एउटा पछिल्लो कडी थियो ।  तर ओली चुप देखिएनन् । उनले फेरि यो गठबन्धन भत्काउन चलखेल शुरु गरिसकेका छन् । बालुवाटार स्रोतका अनुसार, उनी गौतम निवासको गठबन्धन भत्काउनका लागि अहिले अनेक कसरतमा जुटेका छन् ।

त्यही क्रममा उनले पार्टी नेताहरुलाई भेट्ने , आफु इतर समुहमा बन्दै गएको गठवन्धन भत्काउने योजनामा प्रधानमन्त्री ओली लागिसकेका छन् । सचिवालयमा उनले त्यसका लागि सबैभन्दा बलियो विकल्पका रुपमा वामदेव गौतम र झलनाथ खनाललाई नै प्रयोग गर्न सक्ने ठानेका छन् । पद र आसक्तिमा यी दुई नेता लालायित हुने बुझाईमा छ यतिवेला बालुवाटार ।

त्यही भएर पनि गौतम र खनाललाई फकाएरै प्रचण्ड माधव नेपाल पक्षमा बन्दै गएको समिकरण तोड्ने योजनामा अ‍ोली लागेका छन, यतिबेला । त्यही योजनाका साथ उनले बिहिवार वरिष्ठ नेता झलनाथ खनालसँग बालुवाटारमा झण्डै ४ घण्टा छलफल गरेका छन् ।  आफैले निम्तो गरी खनाललाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले झण्डै चार घण्टा एक्लाएक्लै छलफल गरेको बालुवाटार स्रोतले बताएको छ ।

खनालले पनि भेटको पुष्टि गरेका छन् । ‘प्रधानमन्त्रीले वोलाउनु भयो, म भेटन गए, लामैै कुराकानी भए, पार्टी सरकार लगायतका विषयमा छलफल भए, कसरी पार्टी सञ्चालन र सरकार सञ्चालन प्रभावकारी वनाउने भन्नेमा हाम्रो छलफल केन्द्रीत भयो,’ खनालले सफलखबरसँग भने । खनाललाई ओलीले विहिवार विहान आफैले टोलिफोन गरी भेटन निम्तो गरेका थिए । त्यसपछि खनाल बिहान १० वजे बालुवाटार पुगेका थिए ।

उनले प्रधानमन्त्री ओलीसँग झण्डै २ बजेसम्म छलफल गरि निवास फर्केको बालुवाटार स्रोतले वतायो । ओली सभामुख चयनमा पार्टीभित्रको अल्पमत, बहुमतमा गएको भए अल्पमतमा पर्ने थिए । त्यसले पार्टीमा आफु कमजोर बन्ने ठानेर उनले प्रचण्डको प्रस्तावमा सहमति जनाईदिएका थिए । 

आउदा दिनमा पनि बहुमत सचिवालय सदस्य एकातिर रहेर आफुलाई अप्ठयारोमा पार्न सक्ने ठानी फेरि ओली गौतम निवासको जमघटमा सहभागी गठबन्धन भत्काउने योजनामा लागेको स्रोत बताउँछ । ओलीले फेरि गौतमसँग पनि त्यसै गरी छलफलको योजना बनाउन लागेका छन् । गौतमसँग पनि उनले आज या भोलितिरै छलफल गर्ने योजना बनाउन लागेको बालुवाटार स्रोत बताउँछ ।