साहित्यले समाजलाई सुधारको बाटोमा लैजान्छ: पूर्वप्रम खनाल

रासस

शनिबार, ०४ माघ २०७६, २१ : ३५
साहित्यले समाजलाई सुधारको बाटोमा लैजान्छ: पूर्वप्रम खनाल

फाईल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहित्यले समालाई सुधारको बाटोमा लैजाने बताउनुभएको छ । 

नोबेल साकोस साहित्य प्रतिष्ठानले आयोजना गरेको कवि दिनानाथ पोखरेलका दुई कविता कृति ‘श्रद्धाञ्जलि’ र ‘मुटुभित्रको माटो’ लोकार्पण गर्दै उहाँले कला, साहित्य क्षेत्रको विकास बिना मुलुकको विकासले गति लिन नसक्ने बताउनुभयो । “साहित्य समाजमा हुने राजनीतिक र आर्थिक व्यवस्थाको प्रतिविम्ब हो”, उहाँले भन्नुभयो, साहित्यकारले मुलुकको परिवर्तन र विकासमा पु¥याएको योगदान कहिल्यै बिर्सनु हुँदैन ।”

उहाँले साहित्यकारलाई आफूले प्रकाशन गरेको कृतिलाई देशका उच्च तहमा रहेको व्यक्तिले पाउने गरी वितरण गर्न आग्रह गर्नुभएको छ । उहाँले साहित्यको व्यङ्ग्य र खबरदारीले शासन सत्तामा बस्नेलाई सचेत बनाउने भन्दै रचनात्मक खबरदारीको सधैँ आवश्यकता रहेको औँल्याउनुभयो । 

लेखक पोखरेलले आध्यात्मिक र भौतिक दुवै दर्शनका कविता कृतिमा समावेश गरिएको बताउनुभयो । प्राज्ञ देवी नेपालले पोखरेलका छन्दमा सिर्जना गरिएका कृतिले सिक्दै गरेका कविलाई ज्ञान प्रदान गर्ने बताउनुभयो । प्रा डा राजेन्द्र सुवदी, डा गार्गी शर्मा, प्राज्ञ नन्दु उप्रेती, प्रतिष्ठानका अध्यक्ष सरस्वती गौतम, राजन न्यौपानेलगायतले मन्तव्य राख्नुभएको थियो ।