टेकोमुनि नै मनाइयाे भूकम्प 'सुरक्षा दिवस'

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ माघ २०७६, ०८ : ४६
टेकोमुनि नै मनाइयाे भूकम्प 'सुरक्षा दिवस'

भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालयको भवन अझै टेकोमा अडिएको छ। भूकम्पले क्षति पुर्‍याएपछि भवनमा टेको लगाइएको हो ।

उक्त भवन मल्लकालीन सिंहध्वाका दरबार हो । १९९० सालको भूकम्पमा पनि उक्त दरबार भत्किएको थियो। भूकम्पपछि पुनर्निर्माण गरिएको उक्त दरबार चार वर्षअघिको भूकम्पले पनि क्षति पुर्‍याएपछि टेकोले अड्याइएको हो ।

भूकम्प आएको चार वर्षपछि बिहीबार त्यही दरबारमा लगाइएको टेकोमुनि राष्ट्रिय भूकम्प दिवस मनाइएको छ। २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह बिहीबार भक्तपुर दरबार क्षेत्रस्थित सिंहध्वाका दरबारको टेकोमुनि आयोजना गरिएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो । कार्यक्रम चल्दै गर्दा सहभागी सर्वसाधारण सिंहध्वाका दरबारमा लगाइएको टेकोमुनि निर्धक्क बसिरहेका थिए । कार्यक्रममै भूकम्प आउँदा सुरक्षित हुने विधि ‘घुँडा टेकी गुडुल्की, ओत लागी समात’ प्रदर्शन गरिएको थियो ।

पुरातत्व विभाग र भक्तपुर नगरपालिकाबीच कुरा नमिल्दा उक्त दरबार टेकोमै अडिएको हो । विभागले उक्त दरबार पुनर्निर्माणका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेर ठेकेदारसमेत छनोट गरिसकेको थियो । विभागले दरबारको पश्चिमी र भक्तपुर नपाले पूर्वीभाग पुनर्निर्माण गर्ने सहमति गरेका थिए । भक्तपुर नपाले आफ्नो जिम्मामा परेको पूर्वीभाग मल्लकालीन शैलीमै बनाउने भने पनि पश्चिमी भागको पुनर्निर्माण रोकिएको छ । दरबारको पूर्वीभाग १९९० को भूकम्पपछि पुनर्निर्माण गर्ने क्रममा युरोपेली शैलीमा निर्माण गरिएको थियो । पश्चिमी भाग भने मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको थियो । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस