आज भूकम्प सुरक्षा दिवस : ठूला भूकम्प कतिबेला जान्छन् ?

सफल खबर संवाददाता

विहीबार, ०२ माघ २०७६, ११ : ११
आज भूकम्प सुरक्षा दिवस : ठूला भूकम्प कतिबेला जान्छन् ?

काठमाडौँ । आज भूकम्प सुरक्षा दिवस ।  विक्रम संवत् १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा वर्सेनि भूकम्प सुरक्षा दिवस मनाइदैँ आइएको हो ।  ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथआज बिहीबार देशभर २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । 

भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा छ ।
आधुनिक उपकरणमा अभिलेखीकरण भएको अहिलेसम्मकै ठूलो भूकम्प गएको ८६ वर्ष पूरा भएको छ । वि सं ११९० माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । नब्बे सालको भूकम्प जाँदा नेपालमा भूकम्प मापन गर्ने उपकरण नै थिएन, बाहिरबाटै मापन गरिएको थियो । संसारमा कमै मात्रामा त्यस्ता उपकरण जडान भएका थिए ।

भूकम्पबाट हुने जोखिमलाई अझ न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २२ वर्ष अघिदेखि माघ २ गतेलाई ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाउने गरिएको हो ।

नब्बे सालपछि नेपालमा २०७२ वैशाख १२ मा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।  भूकम्पविद् लोकविजय अधिकारीले नेपाल भूकम्पीय जोखिममा रहेको बताए । कम जोखिम क्षेत्र यो हो भनेर भन्ने ठाउँ नै छैन । नेपालको सबै ठाउँ जोखिममा छन् ।  हिमालय भनेको नै भूकम्पीय उथलपुथलका कारण बनेको क्षेत्र हो । हामी जोखिम क्षेत्रमै बसोबास गर्दै आएका छाँै।’

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको निगरानी राख्ने र भूकम्प गएमा त्यसको सूचना सार्वजनिक गर्दै आएको छ । भूकम्पबाट हुने क्षतिको कुरा गर्दा मानव बसोबास भएको क्षेत्रमा बढी क्षति हुन्छ र नभएको ठाउँमा कम हुने गर्छ । मानवीय संरचना र मानवको बस्ती जहाँ बढी हुन्छ, त्यहाँ बढी क्षति हुने जानकारी उहाँले दिनुभयो ।

विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक क्षेत्रलाई केन्द्र बनाएर ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । त्यसपछि ५० हजारभन्दा बढी परकम्प गएका छन् ।  आफैँमा भूकम्प भएको भनाइ अधिकारीको छ ।

विसं २०७२ को भूकम्पबाट करिब नौ हजार मानिसको मृत्यु र २२ हजार जना घाइते भएका थिए । झन्डै आठ लाख घर क्षति भएका थिए । यसैगरी करिब सात खर्ब रुपियाँको भौतिक क्षति पुगेको थियो ।
भूकम्पको जोखिम बढी भएका ठाउँमा भूकम्प गइरहेको अभिलेखीकरण भएको पाइन्छ । विभिन्न ठाउँमा ५०औँ, सयौँ र हजारौँ वर्षदेखि शक्ति केन्द्रित भएर रहेको हुन्छ र जुनसुकै समयमा पनि ठूलो भूकम्प जाने गरेका छन् । ठूला भूकम्प यति बेला नै जान्छन् भन्ने वैज्ञानिक तथ्याङ्क छैन ।


 

प्रतिक्रिया दिनुहोस