मुटुरोगको निःशुल्क उपचार प्रभावकारी

शुक्रबार, ०१ मंसिर २०७४, १५ : २७
मुटुरोगको निःशुल्क उपचार प्रभावकारी

 ‘‘जसले  मुटुको भल्व फेर्न निःशुल्क गर्नुभयो, उहाँलाई कोटीकोटी धन्यवाद छ, हामीसँग शल्यक्रिया गर्न पैसा थिएन, निःशुल्क नभएको भए यो शल्यक्रिया हुदैन्थ्यो, उहाँले गर्दा नयाँ जीवन पाइयो ।’’ छेउमै बसिरहेकी दिदीले त्यसो भन्दै गर्दा बिरामी खेमकुमारी थामीमगर मलिन देखिन्थिन् ।

सानैदेखि कमजोर, राम्रै खाना खाए पनि सधँै दुब्लीभइरहने बहिनीलाई के भएको हो भन्ने थाहै नपाइ २९ वर्ष वितेको दिदीले बताइन् । रैनादेवी नगरपालिका —४ की उनलाई दुई वर्षअघि अचानक गाह्रो भएपछि बुटवलमा जाँच गराउँदा मुटुको भल्व सुकेको पत्ता लाग्यो । चिकित्सकले औषधि खाएर निको हुन्छ भनेपछि दुई वर्षसम्म औषधि खाँदा पनि निको भएन । त्यति बेलासम्म डेढलाख रकम सकिसकेको थियो । त्यसपछि मात्र चिकित्सकले औषधि खाएर हुन्न भल्व फेर्नुपर्छ भनेपछि काठमाडौँस्थित गंगालाल हृदय केन्द्रमा गत जेठमा खेमकुमारी उपचारका लागि पहिलो पटक आएकी थिइन् । केन्द्रमा पनि जाँच गर्दा भल्व फेर्नुपर्ने देखिएपछि चिकित्सकले एक हप्ताअघि मात्र उनको सफलतापूर्वक मुटुको भल्व फेरिएको छ । अस्पतालबाट बुधबार डिस्चार्ज गरिएकी खेमकुमारीलाई बुटबलमा मुटुको शल्यक्रिया गर्नुपर्छ भन्दा त्यसका लागि रकम कहाँबाट जुटाउने भन्ने चिन्ताले सताएको थियो ।

उनले भनिन् ‘‘मलाई शल्यक्रिया गर्ने डर भन्दा पनि यत्रो पैसा कहाँबाट आउँछ भन्ने डर लागेको थियो, बुबा हुनुहुन्न, बुढी आमालाई के भन्ने चिन्ताले कति दिन निदाउन सकिन् तर यहाँ आएपछि सबै निःशुल्क भन्दा ठूलो भारी बिसाएको जस्तो भयो ।’’ छेउमै बसेकी दिदीले थपिन् “हामी दुई बहिनीको विवाह भयो, यो माइली हो, यसको बिरामी भएकीले विवाह भएको छैन, अब निको भएपछि त होला भन्ने आशा छ ।’’ सानै छँदा मुटुरोगी शान्ता राईलाई एक वर्षअघि फेरि समस्या देखियो । उदयपुर गाईघाटकी ३४ वर्षीया उनलाई गंगालालमा मुटुको भल्व फेर्नुेपर्छ भन्नेपछि पैसा कहाँबाट जुटाउने चिन्ता थियो ।

‘‘दुई वर्षभयो थाहा पाएको, सधैँ दुब्लो, रक्तचाप बढ्यो, थाक्ने, उकालो हिड्दा सास बढ्ने, दुई वर्षअघि बुटबल लगेर जाँच गर्दा भल्व सुकेको छ औषधि खाएर निको हुन्छ भन्यो तर भएन, उनको बुधबार शल्यक्रिया भएको छ,’’ दिदीले भन्नुभयो

गतवर्ष पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले १५ देखि ७५ वर्षसम्मका नागरिकको बाथ, मुटु रोगको सम्र्पूण उपचार निःशुल्क गर्ने घोषणा गर्नुभएको थियो । गतवर्ष फागुन १ गतेबाट शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २१ औं वार्षिकोत्सवको अवसर पारेरे मुटुरोगको उपचार सहज बनाउन यो उपचार निःशुल्क गर्ने घोषणा गरिएको थियो । धेरेजसो बाल्यकालमा देखिने बात मुटुरोगले उमेर बढ्दै जाँदा मुटुमा असर गर्छ र भल्व फेर्नुपर्ने हुन्छ । नेपालमा युवामा मुटु रोगको समस्या बढ्दै गएको भन्दै सरकारले बाथ मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायतका सम्पूर्ण सेवा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले मुख्यगरी बाथ मुटुरोगका कारण भल्व फेर्नुपर्ने धेरै छन्, सरकारले पनि त्यस्ता रोगीलाई प्राथमिकता दिएको छ भन्नुभयो । अस्पतालमा दैनिक हुने मुटु शल्यक्रियामध्ये ४० प्रतिशत भल्व फेर्ने शल्यक्रिया हुने गरेको उहाँले जानकारी दिनुभयो ।

‘‘बाथ ज्वरोले भल्व बिगे्रका युवा बिरामीलाई असर गर्ने र यसबाट मुलुकको सामाजिक आर्थिक क्षेत्रसमेत प्रभावित हुने हुँदा यसको उपचार सेवा छिटोछरितो बनाउन सरकारले निःशुल्क शल्यक्रिया सेवा शुरु गरिएको हो,’’ कार्यकारी निर्देशक शर्माले भन्नुभयो ।

नेपालमा काम गरी आम्दानी गर्ने उमेर समूहका युवा र त्यसमा पनि वैदेशिक रोजगारीका गएका युवामा मुटु रोगको समस्या बढ्दै गएको पाइएको चिकित्सकहरु बताउँछन् । अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले विसं २०७३ फागनु १ देखि हालसम्म गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ४१५ जनाले मुटुको भल्व निःशुल्क रुपमा फेरिसकेको जानकारी दिनुभयो । तीमध्ये २४० महिला र १७५ पुरुष छन् । विगतमा यो उपचारका लागि सरकारी अस्पतालमा रु डेढ लाखदेखि तीन लाख ५० हजारसम्म खर्च लाग्ने गर्दथ्यो । निजी अस्पतालमा यो खर्च अझ बढी हुनेगर्छ । अस्पतालले अझै पाँच महिनासम्म शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि समय दिइसकेको जनाएको छ ।

सरकारले मुटुरोगीका लागि रु एक लाख तथा १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका जेष्ठ नागरिकको मुटुको सम्पूर्ण उपचार पनि निःशुल्क गर्दै आएको छ । (रासस)

 

प्रतिक्रिया दिनुहोस