नारायणकाजीको राष्ट्रिय सभा यात्रा कस्तो होला ?

शुरुमा ३० रुपैयाँ बोकेर गोरखाबाट काठमाडौं छिरेका नेता हुन् श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०७६, ०९ : ५६
नारायणकाजीको राष्ट्रिय सभा यात्रा कस्तो होला ?

काठमाडौं । नेकपाभित्रका इमान्दार नेता हुन्,– प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) । उनी अहिले राष्ट्रिय सभा चुनावमा गण्डकी प्रदेशबाट उम्मेदवार छन् ।

चुनावी कार्यक्रमका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधीहरुसँगको भेटघाटमा यतिखेर उनी ब्यस्त छन् ।

गण्डकी प्रदेशका तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका कांग्रेसका सुरेन्द्रराज पाण्डे र विन्दादेवी आलेको पदावधि सकिंदै गर्दा ९ माघमा राष्ट्रिय सभा चुनाव हुन लागेको हो । यो प्रदेशका दुईसहित १८ स्थानमा चुनाव हँुदैछ । १ स्थान भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने पदमा पनि नयाँ मनोनित गर्नुपर्ने अवस्था छ ।

गण्डकी प्रदेशको अन्यको सूचिबाट नेकपा प्रवक्ता श्रेष्ठ र कांग्रेसका सूर्यप्रसाद रेग्मी चुनावी प्रतिस्पर्धामा छन् ।

प्रदेश सभा सदस्य, गाउ र नगरका प्रमुख, उपप्रमुखले मतदान गर्ने यो चुनावमा नेकपा गण्डकी प्रदेशमा प्रष्ट बहुमतमा छ ।

यस अर्थमा प्रवक्ता श्रेष्ठको जित निश्चित जस्तै छ । गण्डकी प्रदेशका ६० सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सदस्य छन् भने कांग्रेसका १५ जना । त्यस्तै समाजवादीका २, राष्ट्रिय जनमोर्चाका ३ र स्वतन्त्र १ जना सदस्य छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी ऐन २०७४ ले प्रदेशसभा सदस्यको मतभार र स्थानीय तहका पदाधिकारीको मतभार फरक फरक हुने व्यवस्था गरेको छ । उक्त ऐन अनुसार एकजना प्रदेशसभाका सदस्यले हालेको भोटलाई ४८ र स्थानीय तहका पदाधिकारीले हालेका मतलाई १८ मतभार तोकिएको छ । यस हिसावमा प्रदेशसभामै मात्र गण्डकी प्रदेशमा नेकपाको १८७२ मतभार छ ।
 
स्थानीय तहको सन्दर्भमा १ महानगरपालिकाका २ जना मेयर उपमेयर, २६ वटा नगरपालिकाका ५२ वटा मेयर तथा उपमेयर, ५८ वटा गाउँपालिकाका ११६ अध्यक्ष एवं उपाध्यक्ष गरी १७० जना मतदाता रहेकोमा नेकपाको मात्रै ८२ जना मतदाता छन् ।

यस्तै कांग्रेसका ८१, राप्रपाका २ जना, जनमोर्चाका ३ जना र स्वतन्त्रबाट २ जना छन् । यस अर्थमा स्थानीय तहमा नेकपाको १४७६ मतभार हुने छ । प्रदेशसभा र स्थानीय तह गरी नेकपाको पक्षमा ३३४८ मतभार देखिन्छ । यसले पनि देखाउँछ की श्रेष्ठको जित निश्चित प्राय छ ।
 
तर पनि श्रेष्ठ जनप्रतिनिधीका गुनासा सुन्ने, उनीहरुका कुरा पार्टीमा जानकारी गराउने उद्देश्यले चुनावी कार्यक्रम बनाई जिल्ला जिल्ला पुगिरहेका छन् ।

कस्ता छन् श्रेष्ठ ?
प्रवक्ता श्रेष्ठ आफूलाई लागेको कुरा लुकाउन सक्दैनन । कम्युनिष्ट पार्टी एकताका लागि उनको योगदान महत्वपूर्ण छ । तत्कालिन एमाले माओवादी केन्द्रको एकताका लागि उनी एक सूत्रधार थिए । 

पार्टी, सरकार र नेतृत्वले गर्ने गलत आचरणको पनि उनी खुलेरै विरोधमा उत्रन सक्छन् । जबकी कोही नेता उनी जसरी आफ्नै पार्टी नेतृत्वको र सरकारको आलोचनामा उत्रन सक्दैनन् ।

उनलाई चिन्ने जान्नेहरु भन्छन्, – श्रेष्ठमा कुनै कुराको लोभलालच देखिन्न । उनी आफूलाई लागेका कुरा सिधै भनिदिन्छन् ।

उनको जीवन पनि पारदर्शी छ । शुरुमा ३० रुपैयाँ बोकेर गोरखाबाट काठमाडौं छिरेका नेता हुन् श्रेष्ठ । गोरखाको गाउँमा रहेको उनको परिवार शुरुमा धनी किसान वर्गकै रुपमा चिनिएपनि पछि आर्थिक अवस्था कमजोर हुँदै जान थालेको परिवारका रुपमा चिनिएको थियो ।

गाउँमा छँदा बाख्रा चराउने गरेको उनी विद्यालय पढुञ्जेल पहलिो हुन्थे । ब्यक्तिगत सम्पति आफ्नो केही नभएका बताउने श्रेष्ठ अविविाहित हुन् ।

नारायणकाजीले सुरुमा डाक्टर बन्ने लक्ष्य लिएका थिए । त्यही भएर उनी त्रिवि शिक्षण अस्पताल अन्र्तगतको मेडिकल कलेजमा भर्ना भएका थिए । तर, मान्छेको डाक्टरी गर्नेभन्दा समाजकै अप्रेसन गर्नु पर्ने ठानेर उनी राजनीतिमा लागेका थिए ।

राजनीतितिर तानिएर भूमिगत बन्न पुगे । उनको जीवनशैली पनि सरल छ । हात्तिवन हरिसिद्धिमा बस्दै आएका श्रेष्ठ कहिल्यै चिया पिउँदैनन । बिहान कागती पानीमा मह मिसाएर पिउँछन् । उनलाई कोदो र फापरको रोटी साह्रै मनपर्ने परिकार हो । ब्रेकफास्टमा उनी प्रायः कोदो, फापरको रोटी र कहिलेकाँही पाउरोटी खान्छन् । साथमा एक गिलास दूध पनि । 

नारायणकाजी बिहानको खानामा दाल, भात र तरकारी खान्छन् । उनी साकाहारी हुन् । उनले कहिल्लै चिया, कफी, रक्सी, मासु र चुरोट खादैनन् । समयका उनी एकदम पङचुल मान्छे हुन् । जहाँ उनी पुग्छन्, समयमै पुग्छन् ।
 
उनी पार्टीभित्र बढ्दै गएको भष्टिकरणको अहिले खुलेर विरोधमा छन् । यही अवस्था पार्टीमा बढदै जाने हो भने पार्टी प्रतिको जनताको विश्वास टुट्ने उनको ठम्याई छ ।

अहिले उनी नेपालको कम्युनिष्ट आन्दोलन एकीकृत गराउने र पार्टीभित्रको भष्टिकरणका विरुद्ध लडने अभियानमा छन् । आफूलाई लागेका कुरा प्रष्टसँग राख्न नडराउने उनको यो बानीकै कारण उनी पार्टीभित्र दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेका पनि छन् ।

पार्टीभित्रका गुट भत्काउनु पर्ने अभियानमा उनी पहिले देखि नै लागेका छन् । प्रतिनिधीसभामा गोरखा २ मा डा. वावुराम भटटराईसँग चुनाव हारेका उनलाई पार्टीले संसदीय भूमिकामा ल्याउन चाहेपछि उनी अहिले राष्ट्रिय सभा उम्ेमदवार बनेका हुन् ।

उनलाई राष्ट्रिय सभा जान रुची थिएन । तर पार्टीले उम्मेदवार बनाएपछि उनी अहिले राष्ट्रिय सभामा जान लागेका हुन् ।

संसदीय मोर्चा र सरकारको मोर्चामा श्रेष्ठको अपरिहार्यता बढेपछि उनलाई नेकपा सचिवालयले राष्ट्रिय सभा पठाएको हो ।

नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, – श्रेष्ठलाई पार्टीले सरकार र संसदीय मोर्चाको भूमिकामा आवश्यकता ठानेरै राष्ट्रिय सभा उम्मेदवार बनाएको हो ।

प्रतिक्रिया दिनुहोस