उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए हटाउन झन्झट !

पत्रपत्रिकाबाट

मंगलबार, २९ पुस २०७६, ०८ : ०६
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए हटाउन झन्झट !

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारवाही गर्न नसक्ने अवस्था देखिएको कान्तिपुर दैनिकमा समाचार छ । उपसभामुख रहेकै कारण उनी दलको ह्वीप र निर्देशनभन्दा बाहिर छिन् । भविष्यमा पार्टीको राजनीतिमा आइपर्ने अप्ठ्याराबाहेक तत्काललाई उनले नचाहेसम्म उपसभामुख पद जाने सम्भावना छैन । 

नेकपाले राजीनामा गर्न दिएको निर्देशन उनले नमानेपछि उब्जिएको प्रश्न हो – पार्टीले उनलाई कारवाही गर्न सक्छ ? सांसद पदबाट निकाल्न सक्छ ? कानुनले भन्छ – उपसभामुख भएपछि दलको साधारण सदस्य पनि नरहेकी उनीमाथि पार्टीले कारवाही गर्न सक्ने अवस्था छैन । 

राजनीतिक दलसम्बन्धी ऐनले पार्टीले लगाएको ह्वीप उल्लङ्घन गरेको अवस्थामा पनि सभामुख, उपसभामुखलाई कारवाही गर्न नसकिने व्यवस्था गरेको छ । संविधानमा व्यवस्था भएको ‘पदीय आचरण अनुकूल’ को काम नगरेको भन्ने व्यवस्थाअन्तरगत उनलाई उपसभामुखबाट हटाउन प्रतिनिधिसभाको दुई तिहाइ मतबाट मात्र सम्भव छ तर यसका लागि नेकपाको एकल दुई तिहाइ छैन । त्यसमाथि उनले पद अनुकूल आचरण नगरेको ठोस आधारसमेत छैन । यी सबै कानुनी प्रावधान बुझेकाले नै हुनसक्छ तुम्बाहाङ्फेले भन्दै आएकी छिन्, ‘राजीनामा दिन्नँ मलाई महाभियोग लगाएर हटाउनुहोस् ।’

प्रतिक्रिया दिनुहोस