माघे संक्रान्तिमा सार्वजनिक विदा दिन मगर संघको माग

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०७६, १८ : २३
माघे संक्रान्तिमा सार्वजनिक विदा दिन मगर संघको माग

काठमाडौं । नेपाल मगर संघले माघेसंक्रान्ति चाडमा सार्वजनिक विदा दिन माग गरेको छ । माघेसंक्रान्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट तथा शुभकामना आदनप्रदानमा मगर संघले सार्वजनिक विदा दिन माग गरेको हो । 

मगर संघले माघेसंक्रान्तिको अवसरमा माघ १ र २ गते काठमाडौंको टुँडीखेलमा ‘माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गरेको छ । संघले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

पत्रकार भेटघाटमा मगर संघका अध्यक्ष नवीन रोकामगरले माघेसंक्रान्तिको अवसर दिंदै आएको सार्वजनिक विदा कटौती गरेर सरकारले जनजातिमाथि अन्याय गरेको बताए । उनले माघेसंक्रान्तिको अवसरमा चार प्रदेशका सरकारले सार्वजनिक विदा दिएको बताउँदै संघीय सरकारले नै विदा दिनुपर्ने बताए । 

‘हामीले आज विहान गृहमन्त्रीलाई भेटेर माघेसंक्रान्तिका दिन सार्वजनिक विदा दिन आग्रह गरेका छौँ, उहाँले मन्त्रीपरिषद्मा प्रस्ताव लैजान्छु भन्नुभएको छ’, संघका अध्यक्ष रोकाले भने, ‘माघेसंक्रान्ति, ल्होछार, उधौली उभौली जस्ता चाडहरुमा दिइदै आएको सार्वजनिक विदा पुनस्र्थापित नगरिए हामी बाध्य भएर आन्दोलनमा जाने छौँ ।’

पत्रकार भेटघाटमा जारी वक्तव्यमा ‘माघेसकराती लगायतका साँस्कृतिक चाडपर्वहरुमा नेपाल सरकारले कटौती गरेका सार्बजनिक बिदाहरुलाई समानता र सामाजिक न्यायको सिद्धान्तको आधारमा पुनःस्थापना गराउनका लागि मन्त्रीस्तरीय समितिले ल्याएको सार्वजनिक विदा सम्बन्धीको प्रस्ताव प्रति हार्दिक स्वागत गर्दै यथासक्य मन्त्रीपरिषद्बाट निर्णय गरि कार्यन्वयन गर्न माग गर्दछौँ’ भनिएको छ । 

संघले ‘माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ । मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं’ भन्ने मूल नारासहित माघ १ र २ गते टुडिखेलमा आयोजित मगर मौलिक सांस्कृतिक महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले माघ १ गते अपरान्ह १ बजे औपचारिक उद्घाटन गर्ने संघले जनाएको छ । महोत्सवमा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रदर्शनी, धनुणबाँण हान्ने तथा शुभकामना आदान–प्रदान गरिने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस