हरिबोल गजुरेलले भने : शिवमाया अब सभामुख बन्दिनन्

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने हो भने मात्र सभामुख छोडन सकिन्छ’

सोमबार, २८ पुस २०७६, १० : १३
हरिबोल गजुरेलले भने : शिवमाया अब सभामुख बन्दिनन्

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टी निर्णयलाई चुनौती दिने शिवमाया तुम्बाहाम्फे अब सभामुख नबन्ने बताएका छन् । पार्टीका वफादार सिपाहीले कतिपय निर्णय ब्यक्तिगत रुपमा चित्त नवुझेपनि स्वीकार गर्नुपर्नेमा तुम्बाहाम्फेले निर्णयलाई चुनौती दिएकीले अब उनी सभामुख बन्ने बाटो बन्द भएको गजुरेलेको भनाई छ ।

‘पार्टीको एउटा बफादार सिपाहीले आफूलाई चित्त नबुझे पनि पार्टीको निर्णय मान्छ । निर्णय उसलाई चित्त नबुझ्न सक्छ, तर पार्टीको निर्णय उसले मान्नुपर्छ ।

कि पार्टी छोड्नुपर्छ’ स्थायी समिति सदस्य गजुरेलले भने, –‘अहिले पार्टीले भनेको नमानेपछि उहाँ (शिवमाया) लाई कसरी सभामुख बनाउन मिल्छ ? पार्टीको निर्णय मान्यो भने पो बरु हुन्छ । पार्टीको निर्णय नमानेपछि पार्टीले कसरी सभामुख बनाउँछ त ? झन् बनाउँदैन । अब उहाँको च्याप्टर क्लोज भयो ।’

उनले सभामुख चयन प्रक्रियाभित्र अनेक खेल भईरहेको पनि टिप्पणी गरे । शिवमायाको अडानभित्र अन्य खेल पनि पर्दाभित्र रचिएको उनले बताए । गजुरेलले अगाडी भने,– ‘यो उहाँ (शिवमाया) को मात्रै कुरो होइन । धेरै ठूलो चलखेल भइराखेको छ यसभित्र । उहाँले मात्रै यत्रो अडान लिन सक्ने कुरै हुँदैन । उहाँले मात्रै यत्रो अडान लिन सक्ने उहाँको के हैसियत छ र ?’

पार्टीको एकता महाधिवशेनसम्म पूर्व पार्टीका बीचको भागवन्डा कायमै रहने भन्दै उनले भागबन्डा कायम नगर्ने हो भने पार्टीभित्रको आन्तरिक सन्तुलन बिग्रने बताए । प्रचण्डलाई प्रधानमन्त्री बनाउने हो भने मात्र सभामुख छोड्न सकिने उनले प्रष्ट बताए । ‘अहिले भइरहेका प्रधानमन्त्रीले पार्टीको कार्यकारी अध्यक्ष बनेर पार्टी चलाउने, प्रचण्डलाई सरकार चलाउन दिउ न त ।

यसरी मिलाएर जाऔं न त ।  त्यस्तो स्थिति हुन्छ त अहिले ? ल, अहिले पनि प्रचण्डलाई नै एकल अध्यक्ष बनाउने निर्णय गरोस् त पार्टीले, सभामुख, उपसभामुखमा जो राखे पनि हुन्छ ।’

गजुरेलले सफलखबरसँग भने,–‘अरु बेला साविक पार्टीका नाममा भागवन्डा हुने, पार्टी एकताको सन्देश दिनुपर्ने अनि अहिले सभामुखमा चाही दिनु नपर्ने भन्ने कही हुन्छ ? प्रधानमन्त्री प्रचण्डलाई बनाउने भए सभामुख छोडिन्छ, नत्र छोडिन्न ।’
 

प्रतिक्रिया दिनुहोस