जेन जेड विद्रोह ऐतिहासिक : हरिबोल गजुरेल

सफल खबर संवाददाता

विहीबार, २६ भदौ २०८२, १८ : ५४
जेन जेड विद्रोह ऐतिहासिक : हरिबोल गजुरेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले जेन जेड पुस्ताले इतिहास रचेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले युवाहरूको साहस, जागरण र बलिदानले नयाँ युगको सुरुवात गरेको भन्दै सलाम व्यक्त गरेका हुन् । गजुरेलले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको अघिल्लो सरकारको १८ महिने कार्यकालको बचाउ गरेका छन् ।

‘प्रचण्डले नेतृत्व गरेको सरकारले १८ महिना सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य एजेन्डा बनाएर काम गर्‍यो,’ उनले भनेका छन्, ‘भ्रष्टाचारविरुद्ध ठाडो कारबाही भयो, विकास र सामाजिक सुरक्षा योजनाहरू लागू भए, र जनताको विश्वास जित्ने प्रयास स्पष्ट देखियो ।’ उनले सोही सरकारलाई ढाल्न एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा मिलेको आरोप लगाए ।

‘भ्रष्टाचारका संरक्षक केपी शर्मा ओली र शेरबहादुर देउवाले मिलेर त्यो सरकार ढालिदिए । उनीहरूको जनविरोधी कदमले प्रतिगमनको बाटो खोल्यो,’ गजुरेलले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस