नखोलिएको पत्रमा लेखिएको भाषा कसरी थाहा पाइन् तुम्वाहाम्फेले ?

नेकपा सचिवालयलले तुम्बाहाम्फेलाई पठाएको पत्र सिंहदरवारमै त्यत्तिकै अलपत्र

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०७६, ०९ : ०६
नखोलिएको पत्रमा लेखिएको भाषा कसरी थाहा पाइन् तुम्वाहाम्फेले ?

काठमाडौं । सत्तारुढ दल नेकपाको शनिवार बालुवाटारमा बसेको सचिवालय बैठकले गरेको निर्णय खामवन्दी सहित संसद भवन सिंहदरवारस्थित उपसभामुखको कार्यकक्षमा छ । यो खामवन्दीको निर्णय आइतबार बिहानै संसद सचिवालय पुगेको हो ।

नेकपाको केन्द्रीय कार्यालयका तर्फबाट उपसभामुख शिवमाया तुम्बाहाम्फेको कार्यकक्षमा पुगेको त्यो चिट्ठी उनले खोलेकी छैनन् । आफ्नै कार्यकक्षमा त्यक्तिकै थन्काएर राखेकी छिन् । संसदमा आइतबार आएर कार्यब्यवस्था परामर्श समितिको बैठक राख्न गरेको असफल प्रयासपछि उनी बालुवाटारबाट निम्ताइन् ।

जँहा नेकपाका अध्यक्षद्दय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल छलफलमा थिए । त्यही निम्ताइएका अन्यमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल थिए ।  बालुवाटार पुगेर उपसभामुखले नेकपा नेतृत्वलाई त्यँहा उनले प्रश्न गरिन्, –‘तपाईहरुले मलाई राजीनामा दिन निर्देशन दिन मलाई कसरी मिल्छ ? के म अहिले तपाईहरुले निर्देशन दिने हैसियतमा छु ? तपाईहरुले पत्रमा के लेख्नुभएको ? त्यसमा हस्ताक्षर कसले गरेको ?’ उनको त्यो प्रश्नपछि महासचिव विष्णु पौडेलले भने, –‘निर्णयमा हस्ताक्षर मैले गरेको हुँ ।’
 
अचम्म त यो छ की उनलाई राजीनामा दिन पार्टीले पठाएको पत्र उनले आफ्नै कार्यकक्षमा त्यक्तिकै थन्काएर राखिएको छ । त्यो पत्र उनले खोलेकी पनि छैनन् । तर त्यस पत्र भित्र उल्लेखित भाषा शिवमायाले पत्रै नखोली कसरी थाहा पाइन् ? अनि उनले दुई अध्यक्ष सहित महासचिव पौडेल र इश्वर पोखरेलको अगाडी पत्रमा उल्लेखित ‘पार्टी निर्देशन’ भन्ने शब्द कसरी पत्ता पाइन् र निर्देशन दिन मिल्छ भन्दै पड्किन ?

यो भने रहस्यको विषय बनेको छ । उपसभामुखले पत्रै नखोलि पत्रमा उल्लेखित भाषाका विषयमा जानकार भएर बालुवाटारमा प्रस्तुत भएपछि पत्रमा लेखिदा नै उनलाई यो विषयमा जानकारी गराईसकिएको थियो भन्ने देखिन्छ । पार्टी एकतापूर्वको भागवन्डाका आधारमा सभामुख पूर्व माओवादीले पाउनुपर्ने हुन्छ । यसमा वरिष्ठ नेता माधव नेपाल देखि झलनाथ खनालसम्म पनि सकारात्मक देखिएपछि प्रधानमन्त्री ओली सभामुख आफनो पक्डवाट बाहिर जान दिने पक्षमा देखिदैनन् ।

अहिले पूर्व एमालेवबाट चर्चामा रहेका दुई पात्र सुवास नेम्वाङ देखि तुम्वाहाम्फे सम्म दुवै ओली निकटका मान्छे हुन् । ओली सक्दा नेम्वाङ र नभए तुम्वाहाम्फेलाई भएपनि सभामुख बनाएर पूर्व माओवादी धारमा सभामुख जान नदिने रणनीतिमा छन् । त्यही भएर पनि उनले उपसभामुखको राजीनामाका विषयमा दोहोरो रणनीति अख्तियार गरिरहेका छन भन्ने उनको कार्यशैलीले प्रष्ट संकेत दिईरहेको नेकपाकै नेताहरुको भनाई छ ।  

शुक्रवार बालुवाटारको छलफलमा ओलीले तुम्बाहाम्फेलाई राजीनामाका लागि खास करवल नलगाउनु, शनिवार पार्टीले राजीनामा दिन लगाउने निर्णय गर्दा ओली सचिवालय बैठकमै सहभागी नहुनु र आइतबार बालुवाटारमै पून तुम्बाहाम्फेलाई बोलाएर छलफल गर्दा ओली खास नबोलि चुपचाप बस्न खोज्नुले ओलीको दोहोरो कार्यशैली सभामुख चयनका क्रममा देखिएको नेकपाकै एक नेता बताउँछन् ।

त्यसमाथी सिहंदरवार पुगेको राजीनामा दिन सुझाएको पत्र उपसभामुख तुम्बाहाम्फेले खोल्दै नखोली त्यसभित्र उल्लेखित भाषाका विषयमा उनले आपत्ति जनाउनुले पनि यसभित्र उनलाई प्रधानमन्त्री ओलीकै कुनै न कुनै ढाढस रहेको बुझ्न सकिने नेताहरुको बुझाई छ । 

सामान्य समानुपातिक सूचिबाट निर्वाचित सांसदले पार्टी निर्णय नमान्ने गरी चेतावनी दिईरहदा पनि नेकपा सचिवालयले आफैले गरेको निर्णय कार्यान्वनमा लैजान नसक्नुमा तुम्बाहाम्फेलाई राष्ट्रपति र प्रधानमन्त्रीको ढाढस रहेको सहज बुझ्न सकिने नेकपा नेताहरुको बुझाई छ । 

प्रतिक्रिया दिनुहोस