जहाजसँगै चिनियाँ सुरक्षाकर्मीको विशेष टोली नेपाल आउँदै

पत्रपत्रिकाबाट

मंगलबार, २२ पुस २०७६, ०७ : ४३
जहाजसँगै चिनियाँ सुरक्षाकर्मीको विशेष टोली नेपाल आउँदै

file photo

काठमाडौं । चीनले काठमाडौँबाट पक्राउ परेका आफ्ना १ सय २२ जना नागरिकलाई फिर्ता लैजान यात्रा अनुमतिपत्र जारी गरेको छ ।

सीमापार अपराध, साइबार अपराध, बैङ्क ह्याकिङलगायत आरोपमा पुस ७ मा काठमाडौँबाट पक्राउ परेका आफ्ना नागरिकलाई फिर्ता लैजान चीनले नेपालस्थित चिनियाँ राजदूतावासमार्फत यात्रा अनुमतिपत्र जारी गरेको हो । पक्राउ परेका आरोपितले बुझाउने जरिवाना रकम आफैले तिरिदिने दूतावासले जनाएको छ ।

प्रहरीले बरामद गरेका १ सय २ थान राहदानी पनि चीनले रद्द गरिदिएको छ । १ सय २२ जना पक्राउ परे पनि ३० जनाको मात्रै राहदानी फेला परेको थियो । बरामद ७२ वटा राहदानी बाहक व्यक्ति फरार भएको प्रहरीले जनाएको छ । चिनियाँ दूतवासले भने फरार व्यक्तिका नाममा जारी राहदानी पनि रद्द गर्दै उनीहरुलाई अपराधीको सूचीमा राखेको छ ।

राहदानी रद्द भएसँगै त्यस्त नागरिक नेपालमा गैरकानुनी बनेको अध्यागमन विभागले जनाएको छ । निष्कासन गर्न लागिएकालाई लिन बुधबार ‘चाइना साउदर्न’ र ‘चाइना इस्टर्न’ का दुई जहाज काठमाडौँ आइपुग्ने दूतावासले विभागलाई जानकारी दिएको छ । उच्च सुरक्षा स्रोतका अनुसार जहाजसँगै चिनियाँ सुरक्षाकर्मीको विशेष टोली पनि आउनेछ । कान्तिपुर दैनिकमा खबर छ ।