अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच छलफल

रासस

सोमबार, २१ पुस २०७६, १६ : १५
अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच छलफल

फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ । 

    सभापति देउवासँग छलफलका लागि अध्यक्ष दाहाल र महासचिव विष्णुप्रसाद पौडेल आज देउवा निवास बूढानीलकण्ठ पुग्नु भएको थियो । सो अवसरमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग गठनका विषयमा छलफल भएको बुझिएको छ ।  

    शान्ति प्रक्रियाका अरु काम पूरा भएपनि सत्य निरुपण तथा बेपत्ता नागरिकको खोजबिनका विषयमा ठोस उपलब्धि हुन सकेको छैन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संयोजकत्वको टोलीले आयोगमा रहने पदाधिकारी छनोटको प्रक्रिया जारी राखेको छ । 

    अध्यक्ष दाहाल र सभापति देउवाबीच सत्य निरुपण र बेपत्ता नागरिक खोजबिन आयोगलाई छिट्टै पूर्णता दिने विषयमा कुराकानी भएको थियो । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको थियो । सभापति देउवासँगको छलफललगत्तै अध्यक्ष दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समेतछलफल भएको थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस