Safal Khabar - नेपाल भ्रमण वर्ष २०२० : सफलताका शर्तहरु
सोमबार, ०६ माघ २०७६ (Monday, 20 January, 2020)
नेपाल भ्रमण वर्ष २०२० : सफलताका शर्तहरु
सोमबार, २१ पुष २०७६, १२ : ५२
नेपाल भ्रमण वर्ष २०२० : सफलताका शर्तहरु

– विरोध अधिकारी

आजभन्दा २२ वर्ष अगाडि नेपाल भ्रमण वर्ष १९९८ मनाउँदा नेपालले ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सो वर्ष १९९८ मा केवल ४ लाख ६३ हजार ६ सय ८४ जना पर्यटक नेपाल भित्रिए । सन् १९९६ बाट तत्कालीन नेकपा (माओवादी) ले शुरु गरेको जनयुद्धले सन् २००२/०३ मा आइपुग्दा विकाराल रुप लिइसकेको थियो । सन् २००२ मा नेपालमा २ लाख ७५ हजार ४ सय ६८ जना पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । 
दशवर्षे द्वन्द्वले नेपालको पर्यटन उद्योग तहसनहस नै बनायो । सन् २००६ मा भएको बृहत शान्ति सम्झौता तथा दोस्रो जनआन्दोलनपछि स्थायी शान्ति छाउने आशा गर्दै गर्दा पर्यटन आगमनमा सुधार देखियो, र १९९८ को लक्ष्य सन् २००७ मा भेटियो । २००७ मा नेपालमा पर्यटक आगमन संख्या ५ लाख २६ हजार ७ सय ४ जना पुग्यो । त्यसपछिका दिनहरु पनि पर्यटन उद्योगका लागि फलदायी भएनन् । दैनिक रुपमा हुने बन्द हड्ताल, आन्दोलनले पर्यटन उद्योगलाई उठ्न दिएन । 
देशमा शान्ति आएपछि नेपाल सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०११ को घोषण भयो तर सो वर्ष केवल ७ लाख १९ हजार ५ सय ४७ जना पर्यटक नेपाल भित्रिए । तत्कालीन श्री ५ को सरकारले १९९८ मा र नेपाल सरकारले २०११ मा घोषणा गरेको भ्रमण वर्ष दुवैमा लक्ष्य पूरा हुन सकेन तर कुन कारणले यो लक्ष्य नभेटिएको हो ? कसको कमजोरी के हो ? कहिँ कतै छलफल भएको भेटिएन । 
नेपाल सरकारले २००९ मा नै २०२० मा नेपालमा पर्यटक आगमन २० लाख पु¥याउने लक्ष्य लिएको थियो । यहि योजनासहित नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० सफल हुनको लागि हिजोका भ्रमण वर्षहरुका लक्ष्य किन भेट्टाउन सकिएन ? त्यसको कमजोरी र त्यस्ता कमजोरी यो पटक सच्याइएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
सन् २०१६ मा ७,५३,००२ जना, २०१७ मा ९४०,२१८ जना र २०१८ मा ११,७३,०७२ जना पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । भने २०१९ को अक्टोवर सम्म ९,७५,५५२ जनाले नेपाल भ्रमण गरिसकेका छन्  भने यो वर्ष कुल १२,५०,००० ले नेपाल भ्रमण गरेको अनुमान छ । यो आकडा अनुसार २०१६ मा ४० प्रतिशत, २०१७ र २०१८ मा २५ प्रतिशत र २०१९ मा केवल ८ प्रतिशतको बृद्धिदर रहेको छ । भने भ्रमण वर्ष २०२० को लक्ष्य भेट्न ६० प्रतिशत बृद्धि दर आवश्यक रहेको छ  भने दैनिक ५४८० जना पर्यटक नेपाल भित्र्याउन आवश्यक छ ।
नेपालमा संचालित १० वर्षे जनयुद्ध, त्यसपछिका राजनैतिक आन्दोलन, राजनैतिक अस्थिरता का कारण थिलो थिलो भएको पर्यटन उद्योगमा केहि परिवर्तन देखिदै गर्दा सन् २०१५ को भुकम्पले झनै सतहमा ल्याईदिएको छ । हामिले एक्काईसौ सताप्दिको दोस्रो दशकको अन्तिम वर्षमा छौ । विश्वमा नै घुमफिर एउटा संकृतिको रुपमा विकास हुदै गएका छन् । पहिला भ्रमणलाई सोखको रुपमा लिईन्थ्यो भने अहिले यसलाई वार्षिक क्यालेन्डर कार्यक्रमकै रुपमा लिएको पाईन्छ । पश्चिमी संस्कृतिको रुपमा रहेको भ्रमण संस्कृति अहिले विश्वब्यापीकरण हँुदैछ । एसियाली राष्ट्रहरु हुदै नेपालमा समेत घुमफिरको संकृति विकास हुदै गएको पाईन्छ । 
हामीले भ्रमण वर्ष २०११ मा १० लाख पर्यटकको लक्ष्य लिदा थाईल्याण्डले पनि १ करोड लक्ष्यका साथ भ्रमणवर्ष मनाईरहेको थियो । थाईल्याण्ड १ करोड बाट साढे ४ करोड मा पुग्दा हामी भने १० लाख बाट विस लाख लक्ष्यमा छौं । थाईल्याण्डले सन् २०१९ मा करिव ४ करोड १० लाख पर्यटक भित्राउदा हामी त्यसको ५ प्रतिशत मात्र लक्ष्य लिईरहेका छौ । यो अवस्थामा २० लाख पर्यटक भित्राउनु ठूलो लक्ष्य होईन । यसका लागि सरकार, पर्यटन ब्यवसायी तथा अन्य सरोकारवाला पक्ष गम्भिर हुन आवश्यक छ । 
पर्यटन विकासको पहिलो शर्त भनेको पर्यटक संग सम्वन्धित भौतिक पुर्वाधार नै हो । त्यसमा पनि भुपरिबेष्टिक मुलुक भएको कारणले एकमात्र अन्तराष्ट्रिय विमानस्थल ले हाम्रो लक्ष्य धान्छ कि धान्दैन त्यसमा सचेत हुन आवश्यक छ । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल विश्वको सवैभन्दा महंगो र अब्यवस्थित विमानस्थलमा पर्दछ । नेपाल सरकारको स्वामित्वमा रहेको एकमात्र वायुसेवा निगम ब्यापक भ्रष्टाचार ले थिलो थिलो छ । युरोपियन युनियनले नेपालको हवाई उद्योगलाई कालो सुचिमा राखेको यथावत नै छ । यस्तो अवस्था रहिरहने अनि पर्यटक चाँहि खचाखच होस् भन्ने चाहाना राख्नु मुर्खता सिवाय केहि होईन । 
आजको भोलि नै अन्तराष्ट्रिय विमानस्थल बनाउन सकिदैन । नेपाल वायुसेवा निगम तथा अन्तराष्ट्रिय विमानस्थल लाई उत्कृष्ट बनाउन नसकिएला तर काठमान्डौ को सवैभन्दा नजिकको पर्यटकिय स्थल नगरकोट जाने सडक अझै उपत्यका भित्रै जोरपाटी बौद्ध सडक बनाउन त हामी सक्छौ । तर यि सडकहरु वर्षौ देखि अलपत्र छन्, यसमा को जिम्मेवार बन्यो ? यस्तो जोखिम पूर्ण यात्रा गरेपछि हाम्रा पर्यटकले कस्तो अनुभव बाड्लान् अनि हाम्रो २० लाख लक्ष्य पुरा होला ? एउटा सानो सडकले नेपालको छवि विश्वमा नै धमिलो बनाईरहेको छ त्यसको जिम्मेवारी कसैले लिँदैन भने यस्ता भ्रमण वर्ष ले मात्र पर्यटक भित्र्याउन दशरथ रंगशालामा आतशबाजी मात्र हुन्छ, पर्यटक भित्रिँदैनन् ।
हाम्रा पर्यटन ब्यवसायी, पर्यटन क्षेत्रसंग सम्बिन्धित ब्यक्तिहरुले पर्यटन संग गर्ने ब्यवहारले पर्यटन उद्योगलाई असर गर्दछ । पछिल्लो पटक पर्यटकलाई जानाजान बिरामी बनाएर हस्पिटल र केहि ब्यक्तिहरुले बिमा दाबी गरिएको समाचारले नेपालको पर्यटन उद्योगलाई हिलो छ्यापिदिएको छ । यस्तो घृणित अमानवीय कार्य हुँदा पनि दोषी कोहि कार्वाहि नपर्दा यो धन्दा नदोहोरिएला भन्न सकिन्न । खर्च बढि गर्ने, पश्चिमी मुलुकका स्तरीय पर्यटक यस्ता गतिविधिले हामीले गुमाउँदै छौं । 
पछिल्ला वर्षहरुमा फ्रान्स, जर्मनी, ईटाली जस्ता देशका गुणस्तरिय पर्यटकको आगमन को बृद्धि दर घट्दो दरमा छ । यस्तो गतिविधि रोक्न सरकारले कस्तो रणनिति तयार गरेको छ पर्यटन उद्योग अझै बेखवर छ । सन् २०१७ मा पर्यटकसंग सम्बन्धित अपराधिक घटना ६ सय ८७ वटा दर्ता भएको थियो जसमा एउटा बलत्कारको घटना समेत थियो । सन् २०१८ मा ६१९ घटना दर्ता भएको पर्यटक प्रहरीको तथ्यांक छ । 
आफ्नो बिदा मनाउन आफ्नो देश भन्दा टाढा आउँदा जोसुकै सुरक्षित बसाई चाहन्छन् । पर्यटक संख्या बढ्दै जाँदा उनिहरुको सुरक्षा चुनौति पनि वढ्ने छ । यसको लागि सुरक्षा निकाय संग निरन्तर समन्वय आवश्यक छ । आफ्ना होटलमा आएका पर्यटकलाई नमस्ते भनेर हात जोड्दैमा पक्कै पर्यटक बढाउन सकिदैन । विश्वमा यस्तो नमस्कार गर्ने देश धेरै छ । नेपाल नै आउन आवश्यक छैन ।
नेपालमा पर्यटनको संभावना अथाह छ । गौतम बुद्धको जन्म स्थल लुम्बिनी, विश्वको सर्बोच्च शिखर सगरमाथा लगाएत आठ ओटा शिखरहरु, विश्वमा दुर्लभ एक सिगें गैडा, बाघ, विश्व संपदा सुचिमा रहेका हाम्रा एतिहासिक मठ मन्दिर, प्राक्रितिक सम्पदाहरु हामी यति देखाएर नै वर्षको करोडौ पर्यटक भित्राउन सक्छौ । आफूसंग राम्रो सामान भएर मात्र हँुदैन त्यसलाई बेच्न सक्ने क्षमता आवश्यकता पर्दछ । प्रचार प्रसार आवश्यकता हुन्छ । यसका लागि सहि ढंगको ब्यवस्थापन आवश्यक छ । के हामी हाम्रा पर्यटकिय आकर्षणहरु विश्व वजारमा लैजान सक्षम छौं ? आएका पर्यटकहरुलाई सन्तुष्ट बनाएर पठाउने कला हामी संग छ ? यस्ता विषयमा हामी सचेत हुन आवश्यक छ ।
भ्रमण वर्ष १९९८ होस् वा २०२० हामी केवल पर्यटक संख्याको कुरा गरिरहेका छौं । पर्यटक संख्या बढाउदैमा पर्यटन उद्योगलाई फाईदा पुग्छ भन्ने गलत मान्यता हो । मुख्य कुरा भनेको उनिहरुको बसाई दिन र उनिहरुले गर्ने खर्चको हो । थोरै पर्यटक आउदा पनि उनिहरुको बसाईदर र खर्च बढाउन सकियो भने त्यसले पर्यटन उद्योगलाई बरावर योगदान पु¥याउँछ । 
पछिल्लो ३ वर्षको तथ्याङ्गक हेर्दा नेपालमा पर्यटनको वसाईदर घटिरहेको छ । सन् २०१६ मा १३.४० दिन, २०१७ मा १२.६ दिन रहेकोमा सन् २०१८ मा केवल १२.४ दिन रहेको थियो भने सन् २०१९ मा झनै कम भएको अनुमान गरिएको छ । नेपालमा अत्यधिक पर्यटक बसाइदर सन् २००४ मा १३.५१ दिन रहेको थियो । यदि यो दिनलाई १५ दिन मात्र पु¥याउन सक्ने हो भने पर्यटक संख्या यथावत रहँदा पनि पर्यटन उद्योगमा २० प्रतिशत योगदन बढी हुन्छ । नयाँ पर्यटक भित्राउनु भन्दा यहाँ भित्रिसकेको पर्यटकको वसाई लामो बनाउनु सहज हुन्छ । तथ्यांकले देखाएजस्तै पर्यटकको बसाई छोटिँदै जाने हो भने पर्यटक संख्या बढ्दैमा पर्यटन उद्योगमा योगदान बढी हुन्छ भन्ने छैन । 
अझै पर्यटकको बसाईभन्दा महत्वपूर्ण कुरा भनेको पर्यटकले गर्ने खर्च हो । सन् २०१८ को तथ्यांक लिदा पर्यटकको संख्यामा २५ प्रतिशत बृद्धि हुँदा उनिहरुले गर्ने खर्चमा केवल १७ प्रतिशत ले मात्र बृद्धि भएको छ । यसले नेपालमा खर्चालु पर्यटकको संख्या घटेको संकेत गर्दछ । सन् २०१८ मा प्रति पर्यटक प्रति दिन ४४ अमेरिकी डलर खर्च भएको तथ्यांक छ । यदि पर्यटकको खर्चमा बृद्धि गराउने हो र प्रति दिन ४४ बाट ५० अमेरिकी डलर मात्र पु¥याउने हो भने पनि पर्यटक संख्या र उनिहरुको वसाई यथावत रहँदा पनि उनिहरुबाट हुने योगदान करिब १४ प्रतिशत ले बढ्ने छ ।
भ्रमण वर्ष २०२० को भब्य सुरुवात भईसकेको छ । देशमा भ्रमण वर्षको चहलपलह जारी छ । तर नेपालमा अधिक भित्रने देशहरुमा प्रचार प्रसार के भईरहेको छ ? पछिल्लो वर्षहरुमा भारत र चिन पछि बुद्ध धर्म मान्ने देश म्यानमार, श्रीलंका, कोरिया लगायत देशका पर्यटकहरु नेपालमा आकर्षण बढेको देखिएको छ । यस्ता देशहरुमा भ्रमण वर्षको प्रचार प्रसार कसरी भईरहेको छ ? अन्य सामान्य वर्ष भन्दा भ्रमण वर्षमा पर्यटकले पाउने थप सुविधा, छुट के छ ? यस्ता कुराहरु संभावित पर्यटक समक्ष पु¥याउन आवश्यक छ । नेपाल भ्रमण वषर््ा मनाईरहँदा नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन छ । यस्ता महत्वपुर्ण विषयमा सरकार उदास देखिनु पर्यटन उद्योगलाई घातक छ । 
पर्यटन उद्योग जस्तो सानो कुराले पनि प्रभावित गर्न सक्ने क्षेत्रका विषयमा सरकार र सम्बन्धित पक्षले ध्यान पु¥याउने हो भने हामीले २० लाख पर्यटक भित्राउन डिसेम्वर सम्म कुर्नै पर्दैन । अवस्था यथावत रहने हो भने पर्यटकको संख्या बृद्धि दर नकारात्मक हुन सक्छ ।

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस