विद्यार्थीलाई दूध वितरण गर्दै मेयर रेनु दाहाल, दुग्धजन्य पदार्थको प्रयोग बढाउन आग्रह

सफल खबर संवाददाता

शनिबार, १९ पुस २०७६, १४ : ३०
विद्यार्थीलाई दूध वितरण गर्दै मेयर रेनु दाहाल, दुग्धजन्य पदार्थको प्रयोग बढाउन आग्रह

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पूर्ण पोषणयुक्त दुग्धजन्य पदार्थ विद्यार्थीहरूलाई वितरण गर्दै दूधको गुणस्तरीय उत्पादन र पूर्णरूपमा सेवन गरी स्वस्थ बन्न आग्रह गर्नुभयो ।

शनिवार श्री मावि ढड्डाघारीको ५६ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा सो विद्यालयमा अध्यानरत ५ सय विद्यार्थीलाई दूध, पनिर, मिठाई तथा दुग्धजन्य पदार्थ वितरण गर्दै विद्यालयमा जंक फूडको प्रयोगलाई निरूत्साहित गरी दुग्धजन्य पदार्थको प्रयोग बढाउन आग्रह गर्नुभयो ।

प्रमुख दाहालले दूध पूर्ण पोषण भएको भन्दै यसको समुचित र निरन्तर प्रयोगले सबै उमेर समुहको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो । दूधमा पाइने जति पोषण अरू पदार्थमा नपाइने भन्दै उहाँले बालबालिका र विद्यार्थीहरूका लागि दूधको प्रयोग अनिवार्य गर्न आग्रह गर्नुभयो ।

विद्यालय दुग्धपदार्थ प्रयोग सचेतना कार्यक्रम अन्तर्गत दुग्ध बिकास बोर्डले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी प्रमुख दाहालले गुणस्तरीय दूध उत्पादन र यसको बजारीकरणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा दुग्ध बिकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले विद्यार्थीहरुलाई दूधको महत्व र यसको सेवनमा प्रेरित गर्न विद्यालय दुग्धपदार्थ सचेतना कार्यक्रम संचालन गरिएको भन्दै यसलाई ब्यापक बनाउँदै दुग्धपदार्थको बजारीकरण गर्न बोर्डले काम गरिरहेको बताउनु भयो । 

कार्यक्रममा बोर्डका संचालक समिति सदस्य भागिरथ तिमिल्सिना लगायतले कार्यक्रमको उद्देश्य र औचित्यका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस