सिमा विवाद सुल्झाउन सत्तापक्ष–प्रतिपक्ष एउटै स्वर

पत्रपत्रिकाबाट

शुक्रबार, १८ पुस २०७६, ०७ : १५
सिमा विवाद सुल्झाउन सत्तापक्ष–प्रतिपक्ष एउटै स्वर

काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नेपालको सीमा मिचेपछि उत्पन्न विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने साझा संकल्प राष्ट्रियसभाबाट स्वीकृत भएको छ।

राष्ट्रियसभाको बिहीबारको बैठकले सीमासम्बन्धी विवादलाई कूटनीतिक पहलबाट टुंगोमा पु-याउनुपर्ने भन्ने संकल्प प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। सभाबाट स्वीकृत संकल्प प्रस्ताव सकारले कार्यान्वयन गरी संसद्मा प्रतिवेदन पेस गर्नुपनेछ। साझा संकल्प प्रस्तावको प्रस्तावक सत्तारूढ नेकपा र समर्थक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद हुन्।

राष्ट्रियसभामा सत्तारूढ नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंको समर्थनमा सो प्रस्ताव प्रवेश गराएका थिए। सदनमा बिहीबार छलफल भएपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो।

नेपाल सरकारद्वारा जारी कूटनीतिक पहललाई अझै सजगता साथ अघि बढाउने र उच्चस्तरीय राजनीतिक पहल गर्ने, सीमा विवाद समाधान अभियानमा सम्पूर्ण राजनीतिक दल र नेपाली जनताको अभूतपूर्व एकता कायम राख्ने, राष्ट्रिय सहमति जुटाउने, नेपाल–भारत उच्चस्तरीय प्राविधिक समितिद्वारा सीमासम्बन्धी समस्या समाधानमा गरिएको पहललाई निष्कर्षमा पु¥याउने संकल्प प्रस्तावमा उल्लेख छ।

गत कात्तिकमा भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई राखिएपछि नेपाल पक्षबाट विरोध भएको छ। सीमा अतिक्रमणविरुद्ध सबै राजनीतिक दल एक भएका छन्। सीमा विवाद समाधान गर्न आवश्यक भएको भन्दै सत्तापक्ष र प्रतिपक्षले मिलेर संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

कांग्रेस सांसद राधेश्याम अधिकारीले नेपाल–भारत सीमा विवादले दुई देशबीचको अरु सम्बन्धमा असर पार्न नहुने र यसलाई स्थानीयकरण गर्नुपर्ने बताए। उनले राज्यको उच्च तहबाट राजनीतिक सहमति कायम गरी सीमा विवाद टुंग्याउनुपर्ने बताए। उनले दार्चुलामा एउटा मात्र सुरक्षा चेकपोस्ट राखेर नपुग्ने भन्दै कम्तीमा चार÷पाँचवटा थप्नुपर्ने बताए। नेकपा सांसद् ठगेन्द्रप्रकाश पुरीले सरकारले छिमेकीसँग सम्बन्ध कायम गर्दै सीमा विवाद समाधान गर्ने स्पष्ट धारणा राखेको छ भन्दै संकल्प प्रस्तावले सरकारलाई काम गर्न थप सहयोग पुग्ने बताए।

राजपाका बृजेशचन्द्र लालले सीमा समस्या समाधान सडकमा आक्रोस व्यक्त गरेर हुँदैन भन्दै कूटनीतिक पहल गर्न सुझाए। समाजवादी पार्टीकी प्रमिला कुमारीले कूटनीतिक पहलबाट नै समस्याको समाधान गर्नुपर्ने बताइन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस