सहकारी आन्दोलन देशलाई समाजवादतिर लैजाने अपरिहार्य तत्व : अध्यक्ष प्रचण्ड

सूर्यप्रकाश कँडेल

विहीबार, १७ पुस २०७६, १३ : ०४
सहकारी आन्दोलन देशलाई समाजवादतिर लैजाने अपरिहार्य तत्व : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी आन्दोलन देशलाई समाजवादतिर लैजाने अपरिहार्य तत्व भएको बताउनु भएको छ । चितवनमा बिहीबार नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा तथा तालिम भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘देशलाई समाजवादतिर लैजाने हो भने सहकारी आन्दोलन एउटा अपरिहार्य तत्व हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपाल कम्युनिष्ट पार्टीले पनि हाम्रो नेतृत्वको सरकारले पनि सामाजिक न्यायको निम्ति, समाजवादको आधार तयार पार्नको निम्ति किसानहरुलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने दिशामा काम गर्नु पर्छ भनेर लागेका छौँ ।’

उहाँले आधारभुत तहमा भएका किसानहरुको जीविका र पेशालाई मर्यादित बनाउँदै देशकै अर्थतन्त्रलाई आत्मनिर्भरताको दिशातर्फ लैजानु पर्नेमा जोड दिनुभयो । कृषिप्रधान देश हुँदाहुँदै पनि, किसानहरुको बाहुल्य भएको देश हुँदाहुँदै पनि लामो समयदेखि हामी हरेक चिज विदेशबाट ल्याउनु पर्ने र परनिर्भर हुँदै जाने डरलाग्दो रोग देशमा देखा परेको उहाँले बताउनु भयो । 

‘अहिले साना किसानहरु, आधारभुत तहमा काम गर्ने किसानहरुलाई संगठित गर्ने, प्रशिक्षित गर्ने र उत्पादन वृद्धिका निम्ति, वृत्ति विकासका निम्ति विभिन्न खालका तालिमहरु संचालन गर्दै जाँदा अहिले धेरै क्षेत्रमा हामी क्रमशः आत्मनिर्भर हुँदैछौँ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मासुमा तरकारीमा फलफुलमा आत्मनिर्भर हुँदैछौँ ।’

समतामुलक समाजको परिकल्पना अनुसार तीन तहको सरकार बनेको बताउँदै उहाँले अब जनता नै यो देशका मालिक भएको बताउनु भयो । ‘अब विकास निर्माण र समृद्धिको यात्रा पनि जनताको फैसला अनुसार हुनु पर्छ भन्ने मान्यता अघि सारियो । तर दस्तावेजमा लेख्दैमा, संविधानमा लेख्दैमा सबै कुरा आफसेआफ ठीक भैहाल्छ भन्ने कुरा छैन’ उहाँले भन्नुभयो, ‘यदि हामीले सामाजिक न्यायसहितको विकासको निम्ति आवश्यक पर्ने कानुनहरु निर्माण गर्ने कुरा, त्यस खालका संघसंस्थाहरु निर्माण गर्ने कुरा र उत्पादन प्रकृयालाई तलैसम्म जमिनबाट नै अगाडि बढाउने कुरा राम्रोसँग गर्न सकेनौँ भने संविधानमा राम्रा कुरा लेख्दैमा त्यो संविधान आफैँ लागु हुने होइन ।’

कृषि क्षेत्रमा सुधार गर्ने कुरा र सहकारी आन्दोेलनलार्ई अगाडि बढाउने कुुरामा आफ्नो विशेष अभिरुचि रहेको बताउँदै अध्यक्ष प्रचण्डले वार्षिक साधारण सभाको सफलताको कामना पनि गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस