तीस हजारमा बिक्री हुन्छ नक्कली लाइसेन्स, यी हुन् गिरोहका सदस्य

सफल खबर संवाददाता

विहीबार, १७ पुस २०७६, १२ : ४४
तीस हजारमा बिक्री हुन्छ नक्कली लाइसेन्स, यी हुन् गिरोहका सदस्य

काठमाडौँ । नक्कली क्रियाकलाप गरी छिट्टै पैसा कमाउने सोच गर्नुभएको छ ? यदि छ भने तपाई पनि कानुनी फन्दामा पर्न सक्नुहुन्छ । राजधानीमा व्यवसाय गर्दै आएको यस्तै गिरोह अहिले प्रहरीको हिरासतमा पुगेको छ ।  

अबैध गतिविधिमा पल्केका ति गिरोहले रु ३० हजारमा नक्कली लाइसेन्स (सवारी चालक अनुमतिपत्र) बिक्री गर्ने गरेको प्रहरीको महानगरीय अपराध महाशाखाले गरेको अनुसन्धानमा खुलेको हो । 

छिट्टै धनी हुने लोभमा सरकरी कागजातसमेत नक्कली बनाएर अबैध धन्दा चलाउने गरेको फेला परेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनका अनुसार अहिले एउटा गिरोहलाई भने पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

विषेश सूचनाको आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखा र ट्राफिक प्रहरी महाशाखाको प्रयासमा उनीहरुलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।  

नक्कली स्मार्ट लाईन्सेन्स बनाउने कार्यमा सर्लाहीका दीपक ब्लोन, वुद्धिबहादुर रोक्का, काठमाडौँ बौद्ध बस्ने अशोक कार्की, बाराका मोहन यादव र काठमाडौँको लाजिम्पाट बस्ने कुमार तण्डुकार र अनन्ता गुरुङ छन् । 

उनीहरुसम्म पुग्नका लागि दीपक ब्लोन सहयोगी बन्न पुगे । उनीसँग प्रहरीले  नक्कली स्मार्ट लाइसेन्स फेला पार्यो । सोधपुछका क्रममा उनले अन्य व्यक्तिहरुको नाम पोले ।  

अनुसन्धानका क्रममा बुद्धिबहादुर रोक्का बल्खुमा स्टुडियो चलाउँदै आएका थिए । उनले रु ३० हजार लिएर आफ्नो आशिष स्टुडियोमा लाईसेन्स डिजाइन गर्ने गरेका थिए । यसरी उनले सयौँ लाइसेन्स डिजाइन गरेको पत्ता लागेको छ ।

रोक्काबाट दीपक ब्लोनको नामको स्मार्ट लाइसेन्स, विभिन्न व्यक्तिको नक्कली सवारी चालक अनुमतिपत्र, नागरिकताका प्रमाणपत्र, भारत सरकारको आधार कार्ड फेला पर्यो । त्यसपछि उनीहरु कै मिलेमतोमा काठमाडौँको न्यूरोडस्थित फोटो कन्सर्न प्रालिबाट नक्कली सवारी अनुमतिपत्र  निकाल्ने गरेको खुल्न आएको छ । 

अनुसन्धानको क्रममा उक्त प्रालिका फोटो ग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्ता गुरुङ, प्रिन्टर तथा मार्केटिङको काम गर्ने अशोक कार्की, क्यासियर मोहन यादवलाई उक्त घटनामा संलग्न भेटिएका हुन् । फोटो कन्सर्न प्रालिले विभिन्न व्यक्तिको सरकारी लिखत डिजाइन गरी बिक्री गर्ने गरेको पनि अनुसन्धानमाखुलन आएको छ । 

अनुसन्धानका क्रममा लक्ष्मण झाँक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचयपत्र, विभिन्न कलेजको परिचयपत्र, प्रिन्टर, हाडड्राईभ सर्वरसमेत बरामद गरिएको छ । 

उनीहरुलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाका प्रमुख थापाले बताउनुभयो । उनीहरुमार्फत अन्य गिरोहको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस