Safal Khabar - शिक्षण संस्थाहरू बने राष्ट्र बन्छ
सोमबार, ०६ माघ २०७६ (Monday, 20 January, 2020)
शिक्षण संस्थाहरू बने राष्ट्र बन्छ
मङ्गलबार, १५ पुष २०७६, १५ : ५३
शिक्षण संस्थाहरू बने राष्ट्र बन्छ

- जयराज आचार्य

केही समय अगाडि मलाई रनभ्यान नामक एक संस्थाले आफ्नो वार्षिक साधारण सभामा प्रमुख अतिथिको रूपमा बोलाएको थियो । रनभ्यान राष्ट्रसंघको स्वयंसेवी कार्यक्रममा गएर विश्वका धेरै द्वन्द्वग्रस्त देशहरूमा भौतिक तथा प्रशासनिक पुनर्निर्माण र अन्य धेरै काम गरेको अनुभव सँगाली स्वदेश फर्केका नेपालीहरूको संस्था हो ।

त्यस सभामा जम्मा एक लाख जनसंख्या भएको सुदूर दक्षिण–पूर्वीय प्रशान्त महासागरीय टापु टोङ्गादेखि आन्ध्र महासागरको पश्चिमी छेउ हैटीसम्म काम गरेका महिला तथा पुरुषहरू हुनुहुन्थ्यो । धेरैले अफगानिस्तान, सुडान, बुरुन्डी, कोसोभो जस्ता ठाउँमा ज्यादै जोखिमपूर्ण अवस्थामा काम गरेका । अफगानिस्तान जस्तो देशमा महिलालाई असमान व्यवहार गर्ने तालिबानहरूसित पनि काम गरेका नेपाली महिलासमेत त्यहाँ हुनुहुन्थ्यो । त्यो थाहा पाउँदा मलाई एक रोमाञ्चकारी अनुभव भयो । त्यहाँ मैले एउटा छोटो सम्बोधन गरें, जसको सारांश यस्तो थियो :

Yeti Diistillery
nic asia

तपाईंहरू विश्वका अनेक देशमा गएर जोखिमपूर्ण परिस्थितिमा काम गरेको अनुभव लिएर आउनुभएको छ । हाम्रा लागि तपाईंहरू एउटा सानो राष्ट्रसंघ नै हुनुहुन्छ । तपाईंहरू समक्ष उभिएर केही बोल्न लाग्दा मलाई के भनूँ, के भनूँ जस्तो लागेको छ । त्यसैले बीपी कोइरालाले २०१६ सालमा राष्ट्रिय योजना आयोगको बैठकलाई सम्बोधन गर्दैगर्दा भनेको कुराको अहिले मलाई याद आइरहेछ । नेपालको इतिहासमा प्रथम निर्वाचित प्रधानमन्त्रीका हैसियतले बोल्दा उहाँका मनमा देशको परिस्थिति खासगरी नेपालको अविकसित अवस्था र जनतामा व्याप्त अशिक्षा र गरिबीको चित्र थियो । त्यसकारण उहाँले भन्नुभयो, ‘तपाईंहरूले योजना आयोगको भित्तामा राजाको फोटो त राख्नुभएकै छ । अब एउटा झोपडीको अगाडि हलोसँगै उभिएको गरिब नेपाली किसानको फोटो पनि भित्तामा झुन्ड्याउनोस् । अनि नेपालको विकासको योजना बनाउँदा आफैलाई सोध्नोस्, ‘मैले बनाएको यस योजनाले त्यस गरिब किसानको जीवनमा के सुधार ल्याउन सक्छ ? के परिवर्तन ल्याउन सक्छ ?’ तपाईंहरूले बनाएको योजनाको मुख्य लाभ उसले पाउनुपर्छ ।’

आज तपाईंहरूले देश–विदेशबाट ल्याएको ज्ञान र अनुभव नेपालको अमूल्य निधि हो । अब यो निधिलाई हामीले कसरी सदुपयोग गर्ने भन्नेमात्र प्रश्न छ । अब तपाईहरूले आफैलाई सोध्नुपर्छ, ‘मैले विदेशमा कठिन परिस्थितिमा काम गरेर ल्याएको मेरो अनुभवले नेपालको विकासका चुनौतीलाई कसरी सम्बोधन गर्न सकिन्छ ? म मेरा देशका जनतालाई के दिन सक्छु ?’ हामी सबैलाई थाहा छ, नेपाल दस वर्ष लामो युद्धबाट गुज्रिएर अनि भूकम्प लगायत अनेक विपत्ति पार गर्दै फेरि उठ्ने प्रयास गरिरहेछ ।

मैले बारम्बार भन्ने गरेको छु– शिक्षित देश धनी र विकसित छन् । अशिक्षित देश गरिब र अविकसित छन् । नेपाल अविकसित छ, किनकि यहाँ अझै पनि धेरै अशिक्षा छ । यति साधारण कुरा पनि नबुझेझैं गरी हालका हाम्रा नेताहरूले शिक्षाको विकासमा किन धन र श्रम लगाएका छैनन् ? उदेकलाग्दो कुरा छ । युजिन ब्रामर मिहालीको ‘फरेन एड यान्ड पोलिटिक्स इन नेपाल’ भन्ने किताब हेर्नुहोला । नेपाल सरकारले २०१६ सालमा १,६०० र २०१७ सालमा ६०० प्राथमिक विद्यालय खोलेको थियो । त्रिभुवन विश्वविद्यालय पनि २०१६ सालमै खोलिएको हो । त्यतिखेर सरकारलाई देश विकास कसरी गर्ने हुटहुटी थियो । अहिले पनि त्यही हुटहुटी हुनुपर्ने हो । तर आज देशको पहिलो र पछिपछि खुलेका अन्य विश्वविद्यालयहरू राजनीतिक भागबन्डा र गुणस्तरहीनताको केन्द्र बनेका छन् । निराशाजनक प्राज्ञिक स्थिति छ । तर देश विकासको लागि सरकारको मात्र मुख ताक्ने पक्षमा म छैन । त्यसैले हामीले व्यक्तिगत रूपमा वा यस समूहको तर्फबाट सामूहिक रूपमा के गर्न सकिन्छ ? त्यो सोचौं ।

यतिखेर म डा. सुरेशराज शर्माको नाम लिन चाहन्छु, जसले आफूले जीवनभर सँगालेको शिक्षा क्षेत्रको अनुभवका आधारमा काठमाडौं विश्वविद्यालय खडा गरेर देशलाई दिनुभएको छ । त्यहाँ आज विदेशका समेत विद्यार्थी आएर पढिरहेछन् । नेपालका अन्य विश्वविद्यालयको भन्दा काठमाडौं विश्वविद्यालयको शिक्षाको गुणस्तर माथिल्लो पनि छ । एक दिन मलाई सुरेशराज सरले आफ्नो ‘बिर्सन नहुनेहरू’ भन्ने सानो किताबको भूमिका लेखिदिनुपर्‍यो भन्नुभयो । त्यसमा शिक्षा क्षेत्रका तीन, प्रशासन क्षेत्रका तीन, स्वास्थ्य क्षेत्रका तीन र दाताहरूमध्ये तीन गरी बाह्रजना नेपालीबारे संक्षिप्त बाह्र अध्याय छन् । शिक्षा क्षेत्रका तीन जनामा स्व. शंकरदेव पन्त, स्व. अमृतप्रसाद प्रधान र पृथ्वीनारायण क्याम्पस पोखराका संस्थापक जर्ज जोन हुनुहुन्छ । म आफू सानो मानिस हुनाले संकोच मानी–मानी भूमिका लेखेँ, ‘आज स्वर्गबाट शंकरदेव पन्त र अमृतप्रसाद प्रधानको आत्माले भनेको होला, बाबु सुरेशराजजी, हामीले त देशलाई एउटा–एउटा कलेजमात्र दिएर आएका थियौं, तिमीले त विश्वविद्यालय नै दियौ, तिम्रो दीर्घायु होस् । हाम्रो यही आशिर्वाद छ ।’ शिक्षण संस्था खोल्नु राष्ट्रनिर्माणको जग हाल्नु हो ।

अनि म लमजुङ दुराडाँडाका स्व. श्रीकान्त अधिकारीलाई पनि सम्झन चाहन्छु । कारण उही छ । २००८ साल साउनमा दुराडाँडा मौजा (आजकालको गाउँपालिका) मा श्रीकान्त अधिकारी समेतका अग्रजहरूको अगुवाइमा एकैपटक चौधवटा प्राइमरी स्कुल स्थापना गरिए । स्वयंसेवी युवाहरूले नि:शुल्क शिक्षादान गरे । पछि ती चौधमध्ये बाह्रवटा विद्यालयले सरकारी स्वीकृति पाए । अनि २००९ साल कात्तिकमा सर्वोदय मिडिल स्कुल स्थापना गरियो । त्यसमा पनि श्रीकान्तजीको प्रमुख योगदान रह्यो । आज त्यस स्कुलका उत्पादनहरू धेरै डाक्टर, इन्जिनियर, प्रशासक, शिक्षाविद् भई जापान, अष्ट्रेलियादेखि बेलायत, अमेरिका, क्यानाडा लगायत संसारभरि फैलिएका छन् । त्यसैगरी श्रीकान्त अधिकारीले घर–घरबाट मुठीदान गरी पाणिनि संस्कृत हाइस्कुल पनि खोल्नुभयो । एक घरबाट एक मुठी चामल दिनाले गाउँमा एक विद्यालय चलाउन सकिन्छ भनेर देखाइदिनुभयो । त्यो उहाँको कीर्ति र राष्ट्रिय योगदानको नमुना हो । त्यसैले म दोहोर्‍याएर भन्न चाहन्छु, शिक्षण संस्था खोल्नु यशस्वी काम हो, राष्ट्रनिर्माणको जग हाल्नु हो ।

म प्रस्तावित गण्डकी विश्वविद्यालयको पनि अलिकति चर्चा गर्न चाहन्छु । यो विश्वविद्यालय पोखरा नगिचै पृथ्वी राजमार्गको छेउमा खोल्ने विचार गरिएको छ भन्ने सुनेको छु । तर पोखरा विश्वविद्यालय त छँदैछ, विश्वविद्यालय जस्तै ठूलो पृथ्वीनारायण क्याम्पस पनि छँदैछ, नगिचै एउटा थप विश्वविद्यालय किन चाहियो भन्ने प्रश्न पनि उठेको छ । ठिक हो । हाल चलिरहेका राजनीतिक भागबन्डाका विश्वविद्यालय वा कलेज, क्याम्पसजस्तै अर्को गुणस्तरविहीन विश्वविद्यालय चाहिएको छैन । तर साँच्चैको गुणस्तर भएको विश्वविद्यालय, कलेज वा हाइस्कुल पनि चाहिएको छ । साँच्चै भन्ने हो भने त्यस्तो प्राथमिक विद्यालयकै पनि खाँचो छ । व्यावसायिक सीप सिकाउने तालिम केन्द्रहरूको त झनै आवश्यकता छ । बेरोजगार हुने स्नातकहरू उत्पादन गर्ने विद्यालयको चाहिँ कुनै आवश्यकता छैन । सम्बन्धन दिएर पैसा लिने अर्को विश्वविद्यालय पनि चाहिएको होइन ।

अमेरिकाको बोस्टन सहर र त्यसको आसपास क्षेत्रमा मात्र पैंतीसवटा विश्वविद्यालय र कलेज छन् । हार्वर्ड र एमआईटी विश्वकै सर्वोत्कृष्ट शिक्षण संस्था पनि केवल आधा घन्टाको पैदलयात्रा दूरीमा त्यहीं छन् । त्यसकारण बोस्टन सहरका निवासीहरू गर्वसाथ भन्छन्, ‘बोस्टन विश्वको बौद्धिक ऊर्जाघर (पावरहाउस) हो ।’ हिजो त्रि–चन्द्र कलेजमात्र रहेको काठमाडौं सहरमा पनि आज दर्जनौं कलेज छन् । समस्या संख्याको होइन, गुणस्तरको हो । त्यसैले म अनुरोध गर्छु— शिक्षा क्षेत्रमा एउटा उच्च गुणस्तरीय काममा हाम्रो शक्ति, बुद्धि र साधनस्रोत लगाऊँ र एउटा चिरस्मरणीय योगदान गरौं ।

यस प्रसङ्गमा स्व. विद्वान् यदुनाथ खनालसित भएको एउटा कुराकानीको सम्झन चाहन्छु । मैले एक दिन उहाँलाई सोधेँ, ठूलो मानिस कसलाई भन्ने ? धेरै धनीलाई ? राजालाई ? राष्ट्रपतिलाई ? प्रधानमन्त्रीलाई ? वीर योद्धालाई ? कसलाई ? उहाँले भन्नुभयो, ‘जसले संस्था बनाउँछ, उसलाई ठूलो भन्नुपर्छ ।’ मेरो चित्त बुझ्यो । उहाँले थप्दै भन्नुभयो, ‘आज बेलायतबाट अक्सफोर्ड र केम्ब्रिज विश्वविद्यालय झिकिदिने हो भने त्यससित अरू के नै रहन्छ र ?’ मेरो चित्त झनै बुझ्यो । हुन पनि, आज एक हजार वर्ष पुरानो अक्सफोर्ड, नौ सय वर्ष पुरानो केम्ब्रिज, चार सय वर्ष पुरानो हार्वर्ड । अनि जम्मा साठी वर्ष पुरानो मेरो त्रिभुवन विश्वविद्यालय । त्यो पनि भागबन्डाको सिकार । टीबी रोग लागेको मरणासन्न बिेरामीजस्तो । कति टिठलाग्दो कुरा छ ?

कुनै राष्ट्र सफल या असफल हुने, विकसित या अविकसित हुने कुरा त्यसका संस्थाहरूमा भर पर्छ । यसबारे एमआईटीका दुई प्रोफेसरहरू जेम्स रबिन्सन र डारोन आसमोग्लुको विश्व प्रसिद्ध किताब पनि यहाँहरूले पढ्नुभएकै होला, ‘ह्वाइ नेसन्स फेल’ । उनीहरू त्यस किताबमा सप्रमाण त्यही भन्छन् । जुन देशमा संस्थाहरू विकसित भएका छन्, ती आर्थिक लगायत सबै दृष्टिले सम्पन्न हुन्छन्, जुन देशमा संस्थाहरू विकसित भएका छैनन्, ती अविकसित, असुरक्षित र असफल हुन्छन् । उनीहरूले भनेको संस्था शिक्षण संस्थामात्र होइन । अदालत, प्रशासन, राजनीति र मुख्यतया कानुनको राज्य हो । मलाई लाग्छ, ती संस्थाको विकासका लागि पनि शिक्षण संस्था नै चाहिन्छ । शिक्षा नभएको देशमा अदालत, प्रशासन, राजनीति र कानुनको राज्यको अवधारणा विकसित हुनै सक्तैन । बेलायतमा लिखित संविधान नहुँदा पनि प्रजातन्त्रको त्यति पुरानो अभ्यास चालु रहनुका कारण कानुनी राज्यको संस्कार र त्यो संस्कार विकसित गर्ने शिक्षण संस्थाहरू नै हुन् ।

त्यसैले मेरो अनुरोध छ कि हामी नेपालको शिक्षा विकासका क्षेत्रमा सानै भने पनि केही काम गरौं । दिनको एक मुठी अन्न उठाएर विद्यालय चलाउने श्रीकान्त अधिकारीलाई सम्झौं । तपाईं–हामी जो पनि महिनाको पाँच सय रूपियाँ दान गर्न सक्छौं । त्यो भनेको दिनको सत्र रूपियाँ जति हो । आजकल सय रुपियाँले एकछाक तरकारी आउँदैन । महिनामा पाँच सय दिने जम्मा एक सयजना भयौं भने पचास हजार हुन्छ । त्यस्ता दुई सय मानिस भइयो भने त एक लाख नै हुन्छ । वर्षदिनमा बाह्र लाख हुन्छ । त्यसले एउटा छात्रवृत्ति खडा हुनसक्छ । अथवा काठमाडौं विश्वविद्यालयमा रनभ्यान प्रोफेसर अफ डिभलपमेन्ट इकोनोमिक्सको इज्जतिलो चेयर खडा हुनसक्छ । अथवा त्यो रकम महावीर पुनजस्ता त्यागी, कर्मठ, देशभक्त वैज्ञानिकको आविष्कार केन्द्रलाई वर्षैपिच्छे दिन पनि सकिन्छ । देशका लागि मरिमेट्ने उहाँले आफ्नो म्यागासेसे मेडल लिलाममा राखेको छ भन्ने पनि सुनेको थिएँ, त्यो एक लज्जास्पद विडम्बना हो ।

गोर्खाको बिसे नगर्चीले एक रुपियाँ चन्दा दिएर सुरु गरेको अभियानले आजको नेपाल एकीकरण भएको हो । त्यो नबिर्सौं । निसाफ हराए गोर्खा जानू भन्ने उखान नबिर्सौं । स्वच्छ निसाफ हुने व्यवस्था नै राष्ट्र बनाउने संस्था हो । त्यसको आधुनिक आधार निर्माण गर्ने पनि शिक्षण संस्थाले नै हो, जसले ज्ञान पैदा गर्छ । त्यसमा लगानी गरौं । (कान्तिपुर)

प्रतिक्रिया दिनुहोस