सैनिक हाकिमले जुनियर महिलासँग सहमतिमा करणी गर्दा जागिर गयो

पत्रपत्रिकाबाट

मंगलबार, १५ पुस २०७६, ०७ : ५१
सैनिक हाकिमले जुनियर महिलासँग सहमतिमा करणी गर्दा जागिर गयो

file photo

काठमाडौं । एक सैनिक अधिकृतले आफ्नै कार्यालयमा काम गर्ने कुचिकार महिलालाई जबर्जस्ती करणी गरेपछि जागिर गुमाउनुपरेको छ। सर्वोच्च अदालतले पदीय शक्तिका कारण यौनसम्बन्ध सहमतिमै भए पनि अपराध ठहर्ने निक्र्योलसँगै ती अधिकृतलाई जागिरबाट हटाइनुपर्ने फैसला गरेको छ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यसअघि समरी जनरल सैनिक अदालतले गरेको फैसला सदर गर्दै सैनिक अधिकृतलाई सेवाबाट हटाउने ठहर गरेको हो। नेपाली सेनामा कार्यरत सहसेनानी भूपेन्द्र खड्काले आफ्नै कार्यालयमा काम गर्ने कुचिकार एक महिलासँग यौनसम्बन्ध राखेका थिए। सर्वोच्चले पुरुष ठूलो पदमा र महिला सानो पदीय ओहोदामा रहेकाले सहमतिमै भए पनि यसलाई यौन शोषण मानेको छ। यस्तो खालको यौनसम्बन्धलाई जानेर, बुझेर दिइएको सहमति मान्न नसकिने सर्वोच्चले नजिर प्रतिपादन गरेको छ।

‘यस्तो सम्बन्धलाई यौन शोषणकै एउटा प्रकृतिका रुपमा हेरिनुपर्छ’, सर्वोच्चले भनेको छ। ‘पदीय प्रभावमा पारी अफिसर स्तरको सैनिकले सैनिक सेवाभित्रको तल्लो तहकी महिला सैनिकसँग यौनसम्बन्ध राख्न लिएको सहमति अनुचित प्रभावमा पारी लिएको भनी बुझ्नुपर्छ’, सर्वोच्चको ठहर छ, ‘अनुचित प्रभावमा लिइएको सहमति प्रपञ्चीकै स्वरुप मान्नुपर्छ।’ २०६९ भदौ ३० मा चण्डीप्रसाद गण नागपोखरी ब्यारेकमा कार्यरत खड्का वीरेन्द्र अस्पताल छाउनीमा कार्यरत कुचिकार एक महिलासँग काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै थिए।

प्रहरी प्रभाग नागढुंगाले खड्कालाई बसबाटै पक्राउ गरी सैनिक प्रहरी गणमा बुझाएको थियो। अनुसन्धानपछि सैनिक अदालत नियमावलीअनुसार दुवैजना सैनिक भएर पटकपटक अनैतिक शारीरिक सम्पर्क राखेको ठहरिएको थियो। महिला गर्भवती भएकाले गर्भपतन गराउन महेन्द्रनगरतर्फ लैजान लागिएको भन्दै प्रहरीमा उजुरी परेपछि पक्राउ गरिएको थियो। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस