काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो,“समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा हो, जबसम्म शिक्षामा प्रगति हँुदैन र राज्यले शिक्षालाई प्राथमिकता दिएर त्यसको विकासको निम्ति लगानी बढाउँँदैन, तबसम्म विकास र समृद्धिले गति लिन सक्दैन ।’’ उहाँले विकसित देशले अहिले पनि शिक्षामा लगानी बढाएका छन् भने नेपाल जस्तो पिछडिएका देशमा शिक्षामा लगानी अभिवृद्धि गर्नुपर्ने खाँचो रहेको धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष प्रचण्डले निजी विद्यालयलाई नियमन र सामुदायिक विद्यालयलाई प्रोत्साहन दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ केही वर्षअघि आँधीहुरी जस्तो निजी विद्यालय खुल्ने क्रम बढ्यो, सार्वजनिक विद्यालय नाजुक हुनुपर्ने अवस्थामा पुग्यो तर अहिले सामुदायिक विद्यालयले पनि शैक्षिक गुणस्तरमा राम्रो सुधार गरिरहेका छन्, सार्वजनिक विद्यालयलाई जति राम्रो गर्न सक्यो समृद्धिको यात्रालाई त्यत्तिकै तीव्र गतिमा लैजान सक्छौँ ।’’ उहाँले आफू प्रधानमन्त्री हँुदा सो विद्यालयको भौतिक पूर्वाधारका लागि बजेट उपलब्ध गराएको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेे प्रतिबद्धता जनाउनुभयो ।
विसं २०२७ मा स्थापना गरिएको यस विद्यालयले स्वर्ण महोत्सवको अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक तथा पूर्वमन्त्री हितराज पाण्डे र विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएका गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङलाई सम्मान गरिएको थियो । स्वर्ण महोत्सवको अवसरमा विभिन्न खेलकूद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने विद्यालयका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिनुभयो ।
यसैबीच अध्यक्ष प्रचण्डले आजै नेकपा इच्छाकामना गाउँ कमिटीका सदस्यलाई शपथ गराउनुभएको थियो । दानबहादुर गुरुङको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १३ पुस २०७६, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा