कांग्रेसमा एकलौटी घोषणाले पौडेल–सिटौला समूह आक्रामक

पत्रपत्रिकाबाट

शनिबार, १२ पुस २०७६, ०७ : १८
कांग्रेसमा एकलौटी घोषणाले पौडेल–सिटौला समूह आक्रामक

काठमाडाैं । नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षको बहिष्कारबीच कांग्रेस केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशनको मिति घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले गुटलाई प्राथमिकतामा राखेर निर्णय गरेको भन्दै इतरपक्षले गम्भीर आपत्ति जनाएको छ । निर्णय नसच्याए पार्टीभित्र विद्रोह हुने चेतावनी पौडेल–सिटौला पक्षको छ । संस्थापन पक्ष मात्र उपस्थित बैठकले  ७–१० फागुन ०७७ मा १४औँ महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

वर्तमान कार्यसमितिको चारवर्षे म्याद आगामी १९ फागुनमा सकिने भए पनि विशेष अवस्था देखाउँदै पार्टीका सबै तहको म्याद एक वर्ष थप गर्दै कांग्रेसले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकाअनुसार पुसभर बाँकी तहका संरचनाको समायोजन सकेर माघदेखि क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने निर्णय कांग्रेसको छ । ९ मंसिर ०७७ मा वडा तह, ११ मा गाउँपालिका र नगरपालिका, १५ मा ३३० प्रदेश क्षेत्र, १७ गते १६५ क्षेत्रीय समिति, २५ गते ७७ जिल्ला र १५ पुसमा सातवटा प्रदेशको अधिवेशन गर्ने निर्णय कांग्रेसले गरेको छ । 

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गरिसक्ने अवधि ०७६ माघदेखि ०७७ वैशाख मसान्तसम्म तोकिएको छ । त्यसपछि जिल्लाले सदस्यताको सूची केन्द्रमा पठाउन १ जेठ ०७७ देखि १५ असारसम्म, जिल्लास्तरमा प्रारम्भिक छानबिन र केन्द्रीय छानबिन समितिमा उजुरी दिने १६ देखि असार मसान्तसम्मको समय तोकिएको छ । सदस्यताको अन्तिम सूचीको समय ०७७ असोज मसान्तसम्म तोकिएको छ । 

एकलौटी घोषणाले पौडेल–सिटौला समूह आक्रामक 

वार्ता प्रयास भइरहेका वेला संस्थापनले एक कदम अघि बढेर कार्यतालिका सार्वजनिक गरेपछि कांग्रेसमा आन्तरिक द्वन्द्व झन् बढेर जाने संकेत देखिएको छ । एकलौटी ढंगले महाधिवेशन कार्यतालिका घोषणा गरेको भन्दै पौडेल र सिटौला असन्तुष्ट बनेका छन् । कार्यतालिकाको घोषणा, विभाग थप र तरुण दलको समय थपको निर्णयलगत्तैको प्रारम्भिक प्रतिक्रियामा संस्थापनइतर पक्षले असहमति व्यक्त गरेको छ । कांग्रेसको इतिहासमै बहुमतका आधारमा महाधिवेशनजस्तो ठूलो कार्यक्रमको घोषणा भएकोप्रति नेताहरूले असहमति जनाएका हुन् । 

नेता रामचन्द्र पौडेलले मंसिरमा महाधिवेशन गर्नुपर्नेमा अन्तिम समयमा गर्न खोजेको भन्दै असन्तुष्टि जनाए । नेता कृष्णप्रसाद सिटौलाले गुटगत आधारमा महाधिवेशनको घोषणालाई सभापितको ऐतिहासिक गल्ती भएको प्रतिक्रिया दिए । एकपक्षीय केन्द्रीय सदस्यहरू मात्र सहभागी भएर गरिएको निर्णयप्रति प्रारम्भिक असहमति जनाएको संस्थापनइतरले शनिबार बैठक गरी धारणा सार्वजनिक गर्ने जनाएको छ । एक वर्ष म्याद थपेर पनि अन्तिम समयमा महाधिवेशन गर्न खोज्नुले झन् जोखिम बढाएको र गलत सन्देश दिएको भन्दै उनीहरूले मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका सच्याएर अघि बढ्नुपर्ने गरी संस्थापनलाई दबाब बढाउने भएको छ ।

‘सहमतिका आधारमा निर्णय गर्न वार्ता भइरहेका वेला एकलौटी ढंगबाट निर्णय भएकोमा कार्यकर्तामा आपत्ति छ । मंसिरसम्म महाधिवेशन गर्न दबाब भइरहेकोमा एक वर्ष समय थप गर्ने विषय उत्तिकै असान्दर्भिक छ,’ केन्द्रीय सदस्य डा. रामशरण महतले नयाँ पत्रिकासँग भने, ‘अब कार्यकर्ताबीचमा विद्रोह हुन्छ । यसलाई पुनर्विचार गर्नुपर्छ । शनिबार हामी बैठक बसेर यो निर्णयविरुद्ध मत प्रकट गर्छौँ ।’ 

यसकारण थपियो एक वर्ष म्याद 

कांग्रेसको वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल आगामी १९ फागुनबाट सकिँदै छ । संविधानअनुसार संघीय संरचना गठनका लागि समय लाग्ने भएको कारण देखाउँदै विधानअनुसार नै एक वर्ष म्याद थप गर्नुपरेको कांग्रेस निर्णय छ । संघीय संरचनासहित जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगरपालिका, गाउँपालिका र नगरपालिका/गाउँपालिका वडाहरूसमेतको पुनर्संरचना भएकाले यसै अनुकूल आफ्ना संरचना गठन गर्नुपर्ने भएकाले म्याद एक वर्ष थप गर्नुपरेको निर्णय कांग्रेसको छ । नयाँ संरचना समायोजन भई बन्ने नयाँ सांगठनिक संरचनाबाटै पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरणलगायत कार्य सम्पन्न गरी वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशन सम्पन्न गर्न समय आवश्यक पर्ने भएकाले म्याद एक वर्ष बढाउनुपरेको कांग्रेस निर्णयमा उल्लेख छ । नयाँ पत्रिका दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस