सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, १६ : ४२
सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार

दोलखा । विगु गाउँपालिका वडा नम्बर ८ खोपाचागुकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । 

बिहीबार बिहान सुत्केरी भएलगत्तै श्वासप्रश्वासमा जटिल समस्या देखिएकी खोपाचागु निवासी निर्मल खड्काकी श्रीमती सुष्मा श्रेष्ठ खड्कालाई जटिल अवस्थामा हेलिकप्टरबाट उद्धार गरि काठमाडौं ल्याइएको हो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहल र निर्देशनमा सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएकी उनलाई स्वास्थ्य अवस्थामा समस्या देखिएलगत्तै हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

अहिले उनको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको सघन कक्षमा राखेर उपचार भईरहेको छ । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । बुधबार दिउँसोदेखि सुत्केरी व्यथा सुरु भएपछि उनलाई खोपाचागुस्थित स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । तर लामो समयसम्म सुत्केरी हुन नसकेपछि सदरमुकामस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो ।