फेसबुक स्टाटसमा रामकृष्णले भने– हामी सँधैझैँ हाँसी खुसी परिवारमा सँगै छौँ

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, १३ : ५८
फेसबुक स्टाटसमा रामकृष्णले भने– हामी सँधैझैँ हाँसी खुसी परिवारमा सँगै छौँ

काठमाडौँ । गायक रामकृष्ण ढकालले आफ्नो श्रीमती निलमको डिर्भोसबारेको सम्बन्धमा फेरि अर्को खुलासा गरेका छन् । बुधबार उनी र श्रीमती निलमबीचको सम्बन्धविच्छेदको समाचार बाहिर आएको थियो । 

गायक ढकालले आफ्नो फेसबुक स्टाटसमा हामी सँधैझैँ हाँसी खुसी परिवारमा सँगै छौँ भनेका छन् । उनको पछिल्लो फेसबुक स्टाटसमा श्रीमती निलमसँगको सम्बन्धविच्छेदको विषयमा केही उल्लेख त छैन, तर स्टाटसमा सम्बन्धविच्छेदको खण्डन गर्दै सँगै रहेको बताएका छन् । स्टाटसको सार बुझ्दा उनी र श्रीमती निलमबीच भनिएको सम्बन्धविच्छेद झुटो हो । । 

सामाजिक सञ्जालमार्फत उनले आफूहरुको सम्बन्धमा कुनै चिसो नआएको बताएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँबाट उनको सम्बन्धबिच्छेदको मिलापत्र भएको थियो, तर उनले यसको खण्डन गरे । उनले आफ्नो सम्बन्धबिच्छेद नभएको भन्दै पछिल्लो स्टाटस फेसबुकमा लेखे । 

के लेखिएको छ ढकालको फेसबुक स्टाटसमा ?

मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जीवनको यो लामो अन्तरालमा मैले कति दर्शक र श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिनँ ।  

समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजोदेखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शीर्ष समाचार बानाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पूर्ण दर्शक श्रोताप्रति सधैँ कृतज्ञ छु र रहिरहनेछु।

पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् ।

त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवारप्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेषगरी मेरी श्रीमती निलमलाई जोडेर एक महिलाप्रतिको न्यूनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरी प्रतिक्रिया दिनेप्रति खेद प्रकट गर्द्छु । 

सार्वजनिक चासोको विषय बन्दाबन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय हुन्छन् जुन नितान्त व्यक्तिगत हुन्छन्। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाई कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। 

यसर्थ मप्रति चासो देखाउनु हुने मेरा सम्पूर्ण दर्शक र स्रोतालाई यति कुरा प्रष्ट पार्न चाहन्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शक र श्रोताका कारणले छु, तर नेपाली गीत संगीत क्षेत्रमा मलार्इ अनवरतरुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन् । हामी सँधैझैँ हाँसी खुसी परिवारमा सँगै छौँ। हाम्रो

सम्बन्धमा कुनै चिसो आएको छैन।

आशा छ तपाईहरुको माया रहिरहने छ।

सबैको दिन शुभ रहोस्

रामकृष्ण ढकालको स्टाटसमा लेखिएको धेरै कमेन्टमध्ये लिइएको दुई कमेन्ट :

राजकुमार राई राजु – मलाई लाग्छ सम्बन्ध बिच्छेदको समाचार सत्य थियो किनकि, सगरमाथामा अनलाइन, उज्यालो खबर जस्ता स्थापित मिडियाले पनि लेखेको थियोे । तर तपाईं जस्तो एक होनहार सोच भएको मान्छेले दुनियाँलाई आँखै अगाडि देखेको मान्छेले किन सम्बन्ध बिच्छेद को कुरा मिडियामा ल्याउनुभयो ?

तपाईंको गोपनियताको अधिकार अदालतले दिन सक्थ्यो चुपचाप गरे भइहाल्थ्यो नि, समाज यस्तै छ थाहा हुँदाहुँदै गोपनीयता भंग गर्दै यस्तो दयनीय स्टाटस साह्रै जायज लागेन।

रुपक साउद : परिवारको आन्तरिक कुरालाई काम नपाएका पुत्रकारहरुले झुट समाचार सम्प्रेषण गरेका रहेछन। त्यस्ता प्रत्रकारहरु प्रति घोर निन्दा र भर्त्सना गर्दछु रामकृष्ण ढकाल दाईको जय होस्।

प्रतिक्रिया दिनुहोस