निमित्तको भरमा स्थानिय तह कति समय सम्म चलाउने ?

पत्रपत्रिकाबाट

विहीबार, १० पुस २०७६, ०८ : २५
निमित्तको भरमा स्थानिय तह कति समय सम्म चलाउने ?

काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापा सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कोठा–कोठा चहारिरहेका छन् । मन्त्रालयका अधिकारीहरूसँग उनको एउटै आग्रह छ, ‘काम गर्न सक्ने प्रशासकीय प्रमुख पठाइदिनुस् ।’

दोलखाको बिगु गाउँपालिकाको पीडा अर्कै छ । मन्त्रालयको रेकर्डमा त्यहाँ प्रशासकीय प्रमुखको पद रिक्त देखिँदैन तर त्यहाँ सरुवा गरिएका प्रशासकीय प्रमुख नपुगेपछि गाउँपालिकाको काम ठप्प भएको दुई महिना भइसकेको छ । अध्यक्ष र उपाध्यक्ष प्रशासकीय अधिकृत माग गर्दै मन्त्रालय धाएको धायै छन् ।

उपाध्यक्ष सञ्जीव ओली बुधबार मन्त्रालयबाहिरको सडकमै भेटिएका सचिव यादव कोइरालालाई प्रशासकीय प्रमुख पठाइदिन आग्रह गर्दै थिए । ‘कागजमा मात्रै प्रशासकीय अधिकृत आउनुभो, व्यक्ति पनि पठाइदिनुस् भनेको महिनौं भइसक्यो,’ ओलीले सुनाए, ‘मन्त्रालयले खटाएको व्यक्ति आएनन्, कसैले निमित्त पनि पाएका छैनन् ।

यस्तो अवस्थामा आर्थिक र प्रशासनिक कारोबार ठप्प भएको छ । दसैंयता कर्मचारीलाई तलब खुवाउन र नयाँ योजनाको काम प्रारम्भ गर्न सकिएको छैन ।’ अध्यक्ष युधिष्ठिर खड्काले एकजना अधिकृत पठाइदेऊ भनेर मन्त्रालयका अधिकारीहरूलाई महिनौं गुहार्नुपर्दा दिक्क लागिसकेको बताए ।

महोत्तरीको मटिहानी नगरपालिकामा हरि मण्डलले नगर प्रमुखमा चुनाव जितेर जिम्मेवारी सम्हालेको अढाई वर्ष पुग्न लाग्दासम्म प्रमुख प्रशासकीय अधिकृत पाएका छैनन् । ‘कागजमा तीनजना प्रमुख फेरिइसके,’ उनले भने, ‘हामीले प्रशासकीय प्रमुख हेर्न पाएका छैनौं । निमित्तबाट काम चलाएका छौं ।’ उनले मन्त्रालयलाई पटक–पटक ताकेता गर्दा पनि उपसचिवस्तरको प्रमुख पाउन नसकिएको बताए ।

यी केही प्रतिनिधि उदाहरण हुन् । ७ सय ५३ स्थानीय तहमध्ये १ सय ९५ मा प्रमुख प्रशासकीय अधिकृत छैनन् । निमित्तको भरमा काम चलिरहेको छ । मन्त्रालयको रेकर्डमा प्रमुख रहेको तर स्थलगत रूपमा नपुगेको बिगु गाउँपालिकाजस्ता धेरै तह छन् ।

नगरपालिका तथा गाउँपालिकामा प्रमुख प्रशासकीय प्रमुख संघ (केन्द्र) सरकारले खटाएको अधिकारी हुने कानुनी व्यवस्था छ । काठमाडौं महानगरपालिकामा विशिष्ट श्रेणी सचिव, अन्य महानगर र उपमहानगरमा सहसचिव, नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा शाखा अधिकृतस्तरका प्रशासकीय प्रमुखको दरबन्दी तोकिएको छ । विराटनगर, वीरगन्ज र पोखरा महानगरपालिकामा सहसचिव स्तरका प्रमुख छैनन् ।

इटहरी, धरान, जनकपुर, कलैया, जितपुर सिमरा, हेटौंडा, नेपालगन्ज, घोराही, बुटवल, धनगढी उपमहानगर पनि निमित्तका भरमा चलेका छन् । ११ उपमहानगरमध्ये तुलसीपुर उपहानगरपालिकाले मात्रै सहसचिव स्तरको प्रमुख पाएको छ । २ सय ७६ नगरपालिकामध्ये १ सय १६ मा प्रमुख प्रशासकीय अधिकृत निमित्तले चलाएका छन् ।

धेरैजसो स्थानमा शिक्षा समूहका उपसचिव र विद्यालय निरीक्षक तहका अधिकृतले प्रमुखको जिम्मेवारी पाएका छन् । प्रशासनका शाखा अधिकृत, प्राविधिक इन्जिनियर, स्वास्थ्यका निरीक्षक, भेटेरिनरीका चिकित्सकले प्रशासन प्रमुखको जिम्मेवारी चलाइरहेका छन् । गाउँपालिकातर्फ ४ सय ६० मध्ये ६६ मा प्रशासकीय प्रमुख खाली छन् । खाली रहेका धेरैजसो स्थानमा नायब सुब्बा तहका कर्मचारीले निमित्त पाएका छन् ।

प्रतिक्रिया दिनुहोस