अध्यक्ष प्रचण्डले भेट्नुभयो पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०७६, १७ : ०४
अध्यक्ष प्रचण्डले भेट्नुभयो पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई

चितवन । नेकपा अध्यक्ष प्रचण्डले पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई उहाँकै निवासमा पुगेर बुधबार भेटघाट गर्नु भएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले कुँवरलाई आराम गर्न सुझाव पनि दिनुभयो ।

९४ वर्षीय खम्बासिंह कुँवरलाई मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या छन् । केही समयको अस्पताल बसाइपछि कुँवर अहिले निवासमै आराम गरिरहनु भएको छ ।

आमा पुतली कुँवर र बुबा ललितजंग कुँवरका एक्लो जीवित सन्तान खम्बासिंहले डेढ वर्षकै उमेरमा बुबाको माया सदाको लागि गुमाउनु प¥यो । आमासँग मिलेर सानोमा उहाँलाई हुर्काउने दिदी डम्बरकुमारी पनि बितिसक्नु भएको छ । त्यसअघि नै खम्बासिंहका सात जना दाजु र तीन जना दिदीले यो संसार छाडिसकेका थिए । 

१९८४ साल बैशाख १० गते लमजुङ जिल्लाको बाङ्ग्रे गाउँमा जन्मनु भएका खम्बासिंहले २०११ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो । पुराना कम्युनिष्ट नेता खम्बासिंहलाई २०६८ साल असोज २८ गते चितवनको भरतपुरमा नागरिक अभिनन्दन गरिएको थियो ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारको विभूषण समितिले खम्बासिंहलाई सुप्रबल जनसेवाश्री विभूषणबाट सम्मानित गरिसकेको छ । यसबाहेक विभिन्न समयमा विभिन्न संघसंस्थाले उहाँको अभिनन्दन र सम्मान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस