सडक मानवमुक्त अभियान : परिवार र  आफन्त भेट्न कठिन

रासस

बुधबार, ०९ पुस २०७६, १४ : २७
सडक मानवमुक्त अभियान : परिवार र  आफन्त भेट्न कठिन

- शर्मिला पाठक 
काठमाडौँ । सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन मुख्य समस्या रहेको छ । उद्धार गरिएकाहरुले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरुलाई जिम्मा लगाउन समस्या भएको हो । यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको सङ्ख्या कम छ । परिवार भएका र सक्रिय जीवन जिउन सक्नेहरु पनि घर फर्काइदिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन् । 
 
“परिवारबारे जानकारी लिनका लागि उनीहरुलाई केही दिनको परामर्श नै आवश्यक छ, अन्यथा कठिन छ”, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भन्नुभयो । पछिल्लो समय काठमाडौँ महानगरपालिका सडकमा आफ्नो जीवन बिताइरहेकाको संरक्षण जुटिरहँदा यस्ता किसिमका समस्या देखापरेको हो ।  
 
कामपाले आफ्नो २५औँ महानगर दिवस अर्थात् गत मङ्सिर २९ गतेदेखि शुरु गरेको यस अभियानअन्तर्गत हालसम्ममा २८५ जनालाई उद्धार गरिसकेको छ । यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्को, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिलचोकगायत स्थानका  छन् ।  सडकमा बस्नेहरु ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र  चितवनको बढी रहेको आश्रमले जनाएको  छ ।  उद्धार गरिएकाहरुमा बढी पुरुष छन् । ती १६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् । 

मङ्सिर २९ गतेदेखि हरेक राति ८ देखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि कामपा, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली खटिने गरेको छ । सडकका भरमा कोही पनि बस्नु नपरोस् भन्दै बिरामीलाई उपचार गर्ने, परिवार भएकालाई जिम्मा लगाइदिने र बेसहारालाई सहयोग गरी संरक्षण गर्ने जनाई कामपाले यस किसिमको अभियान सञ्चालन गरेको हो ।  
 
कार्यक्रम सञ्चालन गरिएको तीन महिनामा ३२ वटै वडामा बेसहारा भई आफ्नो जीवन बिताइरहेकाको उद्धार गर्ने लक्ष्य कामपाको छ । शुरुआतीको पहिलो चार रातमा सडक किनारामै सुत्ने २१५ व्यक्तिलाई उद्धार गरिएको थियो  । अभियान शुरु भएको पहिलो दिन सात महिला, ३४ पुरुष र एक बालक गरी ४२ को उद्धार भएको थियो ।  दोस्रो दिन १० महिला, ४५ पुरुष एक बालक र एक बालिका गरी ५७ लाई उद्धार गरिएको थियो । यही पुस १ गते ११ महिला, ३७ पुरुष र एक बालक गरी ४९ र पुस २ गते तीन महिला, ६४ पुरुष गरी ६७ लाई राति काठमाडौँका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो । 

‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मूल व्यवस्थापन समिति’ को प्रदेश नं ३ का इञ्चार्ज सुमन बर्तौलाले उद्धार गरिएकामध्ये १२९ पुरुष र  १४ महिला तथा एक एक बालक र बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको बताउनुभयो । उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ । त्यस्तै नौ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ ।
 
 कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार शुरु गरिएको बताउनुभयो । उहाँले व्यक्तिको उद्धारपूर्वको अवस्थालाई तस्वीर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन पनि समितिलगायत निकायलाई निर्देशन दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस