स्वतन्त्र, निष्पक्ष र सुढृढ अनुसन्धान आवश्यक छ : प्रधानन्यायाधीश जबरा

शुक्रबार, ०४ पुस २०७६, १९ : ३८
स्वतन्त्र, निष्पक्ष र सुढृढ अनुसन्धान आवश्यक छ : प्रधानन्यायाधीश जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष र सुदृढ अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ । महान्यायधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन’ मा उहाँले अनुसन्धानकर्ता र अभियोजनकर्ताले सक्षमता र विश्वसनीयताका साथ अनुसन्धान गर्नुपर्ने बताउनुभएको हो । “समाजमा न्याय र कानूनको शासनका लागि अपराध अनुसन्धान स्वतन्त्र, निष्पक्ष हुनुपर्छ”, उहाँले भन्नुभयो । फौजदारी न्याय प्रणालीको मेरुदण्ड नेपाल प्रहरी भएको उहाँको भनाइ छ । 

प्रधानन्यायाधीश जबराले प्रविधिको विकास र अपराधको बदलिदो परिस्थितिमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको जनशक्ति र क्षमता अभिवृद्धिमा विकास गर्नुपर्ने बताउनुभयो । एउटा निकायको सक्षमताले मात्र सुदृढ र सक्षम न्याय प्रणालीको गन्तव्य भेट्न नसकिने उहाँको भनाइ थियो । 

उहाँले गत वर्षदेखि लागू भएका संहिता कानूनहरु विस्तृत, जटिल र महत्वपूर्ण रहेकाले तिनको प्रयोगमा एकरुपता आवश्यक रहेको उल्लेख गर्नुभयो । महान्यायाधीवक्ता अग्नीप्रसाद खरेलले सुदृढ फौजदारी न्याय प्रशासन मुलुकको समृद्धि र सुशासनको आधार भएकाले पीडितलाई न्याय र कसूरदारलाई सजाय दिलाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले गत आर्थिक वर्षमा सरकारी मुद्दामा ७२.२८ प्रतिशत सफलता हासिल गरेको बताउँदै आगामी दिनमा सफलताको प्रतिशत झन् बढाएर लैजाने बताउनुभयो । एउटा घटनाको सही अनुसन्धान भएन भने त्यसले सिङ्गो राष्ट्रलाई असर पार्ने हुँदा सही अनुसन्धानतर्फ नेपाल प्रहरी र महान्यायधिवक्ताको कार्यालय लागेको उहाँको भनाइ थियो । 

नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संविधान र कानूनले दिएको अधिकारअनुसार काम गरे मात्र अनुसन्धानको सफल नतिजा आउने बताउनुभयो । सफल अनुसन्धानका लागि प्रयोगशालाको आवश्यकता रहेको उहाँको भनाइ थियो । 

अध्यक्ष श्रेष्ठले अदालतबाट छुटेको व्यक्तिलाई अर्को मुद्दा लगाएर थुन्ने प्रवृत्ति पछिल्लो समयमा बढेको बताउँदै यसबारे सम्मेलनमा गहन छलफल गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आधार पारदर्शी न्याय प्रणाली भएको बताउँदै पारदर्शी न्यायका लागि नेपाल प्रहरी दृढ भएर लागेको उल्लेख गर्नुभयो । प्रहरीले गत वर्षदेखि शुरु गरेको प्रहरी समुदाय साझेदारी कार्यक्रमले अपराध नियन्त्रणमा सहयोग पुगेको उहाँको भनाइ थियो । 

महानिरीक्षक खनालले पछिल्लो समय समुदायमा सरकारी वकिलसमेत पुगेको बताउँदै अपराधमा निष्पक्ष छानबिन हुने विश्वास व्यक्त गर्नुभयो । आजदेखि शुरु भएको सम्मेलन पुस ६ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिन देशभरबाट ६५० भन्दा बढी सरकारी वकिल अभियोजनकर्ता र अनुसन्धानकर्ता प्रहरीको सहभागिता रहेको छ । सम्मेलनमा विभिन्न विषयमा १२ कार्यपत्र प्रस्तुत हुने महानिरीक्षक खनालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस