हराएको ७ वर्ष पछि युवतीको दिल्लीबाट उद्धार

पत्रपत्रिकाबाट

विहीबार, ०३ पुस २०७६, ०७ : ३९
हराएको ७ वर्ष पछि युवतीको दिल्लीबाट उद्धार

जाजरकोट ।  बारेकोट गाउँपालिका ५ करुकाकी एक युवती सात वर्षपछि भेटिएकी छिन्। हराएका महिलाको संरक्षण घर नामक एक सामाजिक संस्थाको पहलमा भारतको नयाँ दिल्लीबाट २७ वर्षीया कल्पना थापाको उद्धार गरेर जाजरकोट पुर्‍याइएको हो।

तमाना शिष्टर अफ च्यारेटी (हराएका महिलाको संरक्षण घर) मा कार्यरत मन्जुसाको टीमले कल्पनालाई भारतको नयाँ दिल्लीबाट जाजरकोट सदरमुकाम खलंगा पुर्‍याएर बुधबार कल्पनाका दाइ महेन्द्र थापाको जिम्मा लगाइएको हो।

बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाही, स्थानीय प्रशासन, पत्रकार र अधिकारकर्मीको रोहवरमा उनलाई आफन्तको जिम्मा लगाइएको हो। तीन वर्ष पहिला (सन् २०१७ मे १५ तारिखमा) नयाँ दिल्लीको गुरागाउँस्थित एक अस्पतालमा भारतको प्रहरीले कल्पनालाई फेला पारेको मन्जुसाले बताइन् ।

भारतीय प्रहरीले कल्पनालाई ताउड देविल वृद्धाश्रमलाई बुझाएको जानकारी दिँदै मन्जुसाले कल्पना फेला परेको एक वर्षपछि आफू कार्यरत संरक्षण घरमा कानुनी हिसाबले आइ पुगेको बताइन् । मानसिक समस्या देखिएपछि कल्पनालाई एक वर्षसम्म उपचार गराएको र अहिले उनी सामान्य अवस्थामा रहेको मन्जुसाको भनाई छ ।

कल्पनाले घरमा रहेकी आमालाई भेट्ने इच्छा गरेपछि उनलाई नेपाल फर्काउन कारितास नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जका व्यवस्थापक जनक शर्मामार्फत यहाँसम्म आइ पुगेका मन्जुसाले जानकारी दिइन्। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस