१ लाख ३७ हजार बालबालिका अझैं पूर्ण खोपबाट वञ्चित

पत्रपत्रिकाबाट

विहीबार, ०३ पुस २०७६, ०७ : ११
१ लाख ३७ हजार बालबालिका अझैं पूर्ण खोपबाट वञ्चित

काठमाडौं । मुलुकका १ लाख ३७ हजार बालबालिका अझैं पूर्ण खोपबाट वञ्चित भएका छन् । खोपबाट वञ्चित भएका बालबालिकामा रोगको जोखिम उच्च देखिने चिकित्सक बताउँछन् । पूर्ण खोप भन्नाले सरकारले अनिवार्य गरेका खोपमध्ये कुनै न कुनै प्रकारको खोपबाट वञ्चित हुनु हो ।

स्वास्थ्य सेवा विभागका अनुसार खोप लिन योग्य बालबालिकामध्ये १ प्रतिशतले खोप नै पाएका छैनन् । स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१६ अनुसार २२ प्रतिशत बालबालिकाले अझै पूर्ण खोप पाउन सकेका छैनन् । नेपालमा खोप लिन योग्य बालबालिकाको संख्या करिब ६ लाख २० हजार रहेको छ । यस हिसाबले अझै पनि झन्डै १ लाख ३६ हजार ४ सय बालबालिका पूर्ण खोपबाट वञ्चित भएका छन् । यस्तै, झन्डै ६ हजार २ सय बालबालिकाले कुनै प्रकारका खोप पाएका छैनन् । परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार १ प्रतिशत बालबालिकाले कुनै प्रकार खोप पाउन सकेका छैनन् ।

सरकारले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्युएन्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप तथा गर्भवतीका लागि टीडी खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । सरकारले नियमित खोप अभियानका लागि वार्षिक रूपमा १ अर्ब ६५ करोड रुपैयाँको खोप खरिद गर्दै आएको छ ।

दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने तयारी

सरकारले बालबालिकालाई लक्षित दादुरा रुबेला रोगविरुद्ध खोप लगाइने तयारी गरेको छ । झन्डै ३० लाख बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्ध खोप लगाइने सरकारले तयारी गरेको हो । यसका लागि १० हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई विशेष तालिम दिने योजना सरकारले बनाएको छ । विश्व स्वास्थ्य संगठनअन्र्तगत दक्षिण पूर्वीएसियाली राष्ट्रले सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार आगामी फागुन महिनाभर प्रदेश १, २, ५ मा र चैत महिनाभर प्रदेश ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा यो अभियान सुरु गर्दै छ ।

वैशाखदेखि रोटा भाइरसविरुद्धको खोप

यस्तै, सरकारले आगामी वैशाखदेखि रोटा भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै छ । नियमित रूपमा ११ वटा रोगविरुद्ध निःशुल्क खोप दिइँदै आएकोमा अब रोटा भाइरसविरुद्धको खोप थप गर्न लागिएको बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. गौतमले जानकारी दिए । उनका अनुसार रोटा भाइरसविरुद्धको खोप जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई दिइन्छ । राजधानी दैनिकमा खबर छ ।