नेकपा बैठकमा यसपटक सरकारको आलोचना कम हुने

प्रधानमन्त्री बैठकमा नहुनु र आलोचना गर्नेहरु सरकारमा रहनुले यो पटक बैठकमा सरकार र ओलीको आलोचना कम हुने आंकलन

सफल खबर संवाददाता

सोमबार, ३० मंसिर २०७६, ०९ : ५६
नेकपा बैठकमा यसपटक सरकारको आलोचना कम हुने

काठमाडौं । गत वर्षको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओली बैठकका तारो थिए । उनी इतर पक्षका नेताहरुले उनको आलोचनामा निक्कै समय खर्चेका थिए । यसका दुई कारण थिए, पहिलो सरकारको नेतृत्व ओलीले गरेका र उनको नेतृत्वको सरकारको प्रभावकारीता त्यक्ति नदेखिएको अवस्था थियो ।

दोश्रो थियो, उनी आफै पार्टी नेतृत्वमा रहेर आफु निकट नेताहरुलाई पार्टी संगठनात्मक जिम्मेवारीमा काखी च्यापेका कारण नेताहरुका आक्रमणका तारो बनेका थिए । तर यसपटक प्रधानमन्त्री ओली र सरकार समेत आक्रमणको तारो बन्नवाट जारी स्थायी समिति बैठकमा जोगिने भएका छन् । तर यसको अर्थ यो होइन की, सरकारले यो एक वर्षको बीचमा आलोचनाबाट जोगिने काम गरेको छ र पार्टी संगठनमा ओलीले आफु निकटलाई काखी च्याप्न छोडेका छन् । 

ओली सरकारको कामको प्रभावकारिता एक वर्ष अगाडी जस्तो थियो अहिले पनि त्यस्तै छ । उनले पार्टी जिम्मेवारीमा पनि आफु निकटलाई काखी च्याप्ने काम छोडेका छैनन् । यो पटक पार्टी स्थायी समिति बैठकमा आलोचनाबाट किन मुक्त हुदैछन् त ओली र उनको नेतृत्वको सरकार ?नेकपाका एक स्थायी समिति सदस्यले यस बारेमा कारण खोतल्दै भने, – पहिलो सरकारको नेतृत्व गरिरहेका र आलोचना खेप्न पर्ने प्रधानमन्त्री ओली बैठकमै सहभागी छैनन् । उनी सहभागी नभएपछि उनले नेतृत्वको सरकार र उनको आलोचना स्वत धेरै कम भईहाल्छ । त्यसमाथी बिरामी प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको बैठकले ओलीको आलोचना गर्नु नेताहरुले पनि रुची नदेखाउलान् ।

दोश्रो आलोचना गर्ने नेताहरुलाई प्रधानमन्त्री ओलीले यो बीचमा सरकारमा लिएका छन् । घनश्याम भुषाल, योगेश भटटराई लगायत नेताहरुलाई सरकारमा सहभागी गराएका छन् । अघिल्लो स्थायी समिति बैठकमा सरकार र ओलीको तिखो आलोचना गर्ने मध्येका यी दुई नेता थिए । भर्खरै सरकारवाट झिकिएका नेताहरुले आफंै रहेको सरकार र प्रधानमन्त्री ओलीको आलोचना गर्ने छैनन् । सरकारमा गएकाले चुपचाप बस्ने संस्कार नै भईहाल्यो । के त्यसबाहेकका नेताहरु नै छैनन त ?

नेकपामा सरकार र प्रधानमन्त्रीको आलोचना गर्ने ? ति नेताले भने,–‘छन् छन, तर ति नेताहरुको खासै चल्दैन यो पटक ।’ उनका अनुसार, संगठनात्मक आलोचनामा केही नेताहरुले बोल्न सक्छन्, असहमति जनाउन सक्छन् । तर ति नेताहरुको पनि जोर नचल्ने देखिएको छ । भीम रावल, रघुजी पन्त लगायत नेताहरु यो बैठकमा बढि आलोचनामा उत्रन सक्ने नेताका सम्भावित नाम हुन् ।

‘उहा“हरुको आलोचना आलोचना मात्रै हुन्छ, खास जम्छ जस्तो लाग्दैन,’ ति नेताले भने –‘समय र परिस्थितीले मान्छे नयाँ ठाँउमा आउछ । माधवले लेख्दा लेख्दा नसकेर हो । उहाँको पनि बोली र ब्यवहारमा तादम्यता मिल्न सकेको छैन् । भीम रावलजी हुन सक्छन्, चर्काे बोल्ने । बढी बोल्ने रघुजी पन्त हुन सक्छन । तर उहाँहरुको बोली पनि संगठनात्मक क्षेत्रमा अलिक केन्द्रीत हुन सक्लान्, सरकारको आलोचनामा केन्द्रीत हुन सक्दैनन ।’

पूर्व एमालेभित्रका केपी र माधव नेपाल गुटका बीचको संर्घष संगठनात्मक सवालमा केही देखिन सक्ने भएपनि खास गत वर्षको स्थायी समितिको जस्तो चर्काे रुपमा देखा नपर्ने उनको आंकलन छ । ‘राजनीतिक प्रतिवेदनमा पार्टीभित्रको समस्याको ठोस चित्रण आएको र त्यसलाई सुधार गर्ने जिम्मेवारी बोकेकोले पनि त्यक्ति आलोचनातिर बैठक नजाला’ ति नेताले भने । पूर्व माओवादी खेमाका नेताहरुमा भने पहिले पनि एकमत देखिएको  अहिले पनि त्यही मत देखिने सम्भावना देखिएपछि स्थायी समिति बैठक त्यक्ति गर्मागर्मी नहुने नेताहरुकै भनाई छ ।