कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै घडियाल र डल्फिन

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०८२, ०८ : ४५
कर्णालीसहित सहायक नदीमा बच्चा हुर्काउँदै घडियाल र डल्फिन

कैलाली । कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका छन् ।

सहायक नदी पथरैया र मोहनामा असारको पहिलो हप्तादेखि घडियाल गोहीले बच्चा हुर्काइरहेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए ।

नेपालको चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा सरकारले घडियाल गोहीको बच्चा हुर्काउने स्थानको व्यवस्था गरेको छ । प्राकृतिक रूपमा बिनाकुनै लगानी घडियालको बच्चा हुर्काइरहेका छन् ।

विगत चार वर्षदेखि घडियाल गोहीले सो क्षेत्रमा बच्चा कोरल्ने गरेको ढुङ्गानाले बताए । मोहना, पथरैया र कर्णाली तीनवटै नदीमा घडियालले यस वर्ष बच्चा कोरलेका थिए ।

घडियालसँगै सो क्षेत्रमा डल्फिनको पनि बच्चा हुर्काइरहेका छन् । डल्फिन विश्वमै दुर्लभ जलप्राणी मानिन्छन् ।

यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले रातो सूचीमा राखेको छ । वर्षायामको समयमा कर्णाली नदीलगायत सहायक नदीहरुमा डल्फिन बच्चासँगै देखिने गरेको संरक्षणकर्मी ढुङ्गानाले बताए ।

‘सुरुमा आएका वयस्क डल्फिनसँग अचेल स–साना बच्चा पनि देखा परिरहेका छन् । कम्तीमा पनि दुई–तीन दिनमा छ–सात वटा बच्चा वयस्क माउसँग देखा परिरहेका छन् । ‘अहिले देखा परिरहेका बच्चालाई डल्फिनले मोहना नदीमा जन्माएका हुन्‘, उनले भने ।

डल्फिन बच्चा जन्माउने स्तनधारीभित्र पर्दछन् । स्वच्छ पानीमा बस्न रुचाउने डल्फिन बच्चा हुर्काउनका लागि कैलालीको कर्णालीसहित सहायक नदीमा आउने गर्दछन् ।

भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । ‘तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन् । मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन्‘, उनले भने ।

प्रतिक्रिया दिनुहोस