ह्याचरी उद्योग संघका पदाधिकारीद्वारा ६ हजार बढी चल्ला नष्ट

उर्गेन तामाङ

आइतबार, २९ मंसिर २०७६, १८ : ५३
ह्याचरी उद्योग संघका पदाधिकारीद्वारा ६ हजार बढी चल्ला नष्ट

– उर्गेन तामाङ
चितवन । १० दिन चल्ला उत्पादन नगर्ने घोषणा गरेको नेपाल ह्याचरी उद्योग संघका पदाधिकारीहरुले फर्ममै पुगेर चल्ला नष्ट गरेका छन् । भरतपुर महानगरपालिका १६ फूर्ती चोकमा रहेको बुढा निलकण्ठ ब्रिडर्स फर्म प्रालिमा उत्पादन भएको चल्ला आज नष्ट गरेको हो । 

ह्याचरी उद्योग संघका पदाधिकारीसहितको टोलीले फर्ममा पुगेर ६ हजारभन्दा बढी चल्ला नष्ट गरिदिएको फर्मका सञ्चालक देवेन्द्र श्रेष्ठले बताए । अहिलेको बजार मूल्य अनुसार दुई लाख १० हजार बराबरको गिरीराज कुखुराको चल्ला नष्ट गरेको श्रेष्ठको भनाइ छ । 

श्रेष्ठका अनुसार संघका पदाधिकारीहरुसँगको छलफलपछि अबदेखि कोइलर चल्ला उत्पादनमा भने समस्या नपार्ने सहमति भएको छ । चल्ला नष्ट गर्ने कार्यमा संलग्न संघका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोधपुछका लागि बोलाएको थियो । केही समय छलफल गरेपछि फर्किएको प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए ।
 
उत्पादित चल्लाले उचित मूल्य नपाएको भन्दै ह्याचरी उद्योग संघले देशैभर १० दिन चल्ला उत्पादन बन्द गरेको छ । नेपालमा हाल प्रति हप्ता ४५ लाख ब्रोइलर चल्ला, २ लाख ५० हजार लेयर्स चल्ला र कलर ब्रोइलर चल्ला प्रतिहप्ता १ लाख ७० हजार वटा उत्पादन भइरहेको ह्याचरी संघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस