अध्यक्ष प्रचण्डले कार्यकारी भूमिका पाएसँगै धमाधम बैठक, भटाभट निर्णय

चलायमान बन्यो नेपाल कम्युनिस्ट पार्टी (नेकपा), ७७ वटै जिल्लामा विशेष कार्यक्रम आयोजना हुने

सफल खबर संवाददाता

आइतबार, २९ मंसिर २०७६, १३ : ०९
अध्यक्ष प्रचण्डले कार्यकारी भूमिका पाएसँगै धमाधम बैठक, भटाभट निर्णय

काठमाडौँ । पार्टी एकता भएको लामो समयसम्म पनि कार्यकारी भूमिका नपाएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक कार्यकारी भूमिका पाएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चलायमान बनेको छ । 

आफूलाई मन लाग्दा बैठक बोलाउने निर्णय गर्ने, आफूलाई मन नलाग्दा केही पनि नगर्ने तथा आफू अनुकूल बनाउन सबैखालका चिन्तन र प्रवृत्ति समेत प्रयोग हुँदै आएको नेकपामा अब पुरानो भद्रगोल अवस्था छैन । 

निर्णयमा जे–जे भएपनि अब नेकपाको आधिकारिक र कार्यकारी अध्यक्ष प्रचण्ड नै हुन् । अब ओलीले आफू अध्यक्ष भएको बताएपनि काम र व्यवहारका आधारमा अब प्रचण्ड नै अध्यक्ष हुन् र रहने छन् भन्ने कुरामा कुनै दुईमत रहँदैन । 

स्वास्थ्यका हिसाबले पनि कमजोर अवस्थामा रहेका ओलीलाई नै पार्टी जिम्मामा छाड्दा त्यसले जनअपेक्षा पनि पूरा नगर्ने तथा पार्टीका सबै प्रकारका संयन्त्र तथा संस्था समेत कामकाजी नहुने तथा कुनै पनि निकाय परिचालित समेत नहुने अवस्था आएपछि प्रचण्डले नेकपालाई अब विधिवत र व्यावहारिक रुपमा टेकओभर गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी भूमिका पाएपछि धमाधम बैठक र भटाभट निर्णय गर्ने तयारी थालेका छन् । पार्टीलाई गति दिनका लागि देशव्यापी रुपमा कार्यकर्ता परिचालन गर्ने योजनादेखि रणनीतिक रुपमा राजनीतिक अभियान समेत अगाडि बढाउन खोजिएको छ । प्रचण्डले त्यसका  लागि रणनीतिक, एवम् कार्यक्रमिक योजना समेत बनाएका छन् । 

पार्टीलाई गति दिन जनवर्गीय संगठनका बैठक तथा एकता प्रक्रियालाई टुंगोमा पु¥याउन निर्देशन दिइएको छ । अब पार्टीमा कुनै पनि प्रकारको तदर्थवाद रहने छैन । पार्टीमा गति र मति दुवैले लय लिनेछ ।

 कार्यकारी अध्यक्ष प्रचण्डलाई अब काम गर्न पनि सहज छ, किनकि ओलीका खास मान्छेका रुपमा भनिएका इशर््वर पोखरेल मात्रै  सचिवालयमा रहेका छन् । उनको मत खासै अब मुखरित हुन समेत मुस्किल नै हुनेछ । कारण वामदेव गौतमहरुको माग अनुसार नै पार्टीभित्र निर्णय हुने अवस्था सिर्जना भएपछि पोखरेलहरुलाई कसले कसरी तह लगाउँछ भन्ने कुरा राजनीतिको कखरा थाहा पाएका धेरैले बुझेकै छन् ।

एकीकृत पार्टीको साखलाई अब प्रचण्डले उजिल्याउने भन्दै नेकपाभित्र एक प्रकारको तरंग पैदा भएको छ । संघीय, प्रदेश तथा स्थानीय तहमा समेत नेकपा जताततै बहुमतमा रहेपनि स्थानीय तहका जनप्रतिनिधिले हुने नहुने सबै काम गरी लुटपाट नै गरेका छन् । त्यसलाई समेत ठेगानमा ल्याउने गरी नेकपाले देशव्यापी रुपमा जागरण अभियान सञ्चालन गर्न लागेको जनाइएको छ । 
नेकपाले तयारी गरेको रणनीति अनुसार ७७ वटै जिल्लामा विशेष कार्यक्रम आयोजना हुनेछ । राजधानी काठमाडौँलगायत प्रमुख शहरहरुमा जनपरिचालन सहित भव्य भव्य आमसभाहरु हुनेछन् । राजनीतिक दर्शन, चिन्तन र नेकपाको राजनीतिक चरित्रका बारेमा कार्यकर्ता प्रशिक्षण तथा जनतासँगको स्म्बन्धलाई पुनः नवीकरण तथा नवताजगी बनाइनेछ । पार्टी भित्रका सबै तहका विवादलाई समेत हल गर्दै पार्टीलाई नयाँखालको जीवन दिइनेछ । 

विगतमा रहेका गुटगत चिन्तनलाई निमिट्यान्न पार्दै नेकपालाई नयाँ आधार र स्वरुपमा अगाडि बढाइनेछ । कार्यकर्ता परिचालित हुन थालेपछि देशभर नै एकप्रकारको राजनीतिक तरंग नै पैदा हुनेछ । प्रचण्ड नामक उक्त राजनीतिक तरंगले शक्तिशाली नेकपाभित्र प्रचण्ड र उनको नेतृत्वले स्थापित गर्ने राजनीतिक मूल्य के कस्तो रहनेछ भन्ने तथ्य समेत स्थापित हुनेछ ।

प्रतिक्रिया दिनुहोस