चर्च निर्माणका लागि स्थानीय सरकारद्वारा बजेट विनियोजन

पत्रपत्रिकाबाट

शुक्रबार, २६ माघ २०७४, ०७ : ०४
चर्च निर्माणका लागि स्थानीय सरकारद्वारा बजेट विनियोजन

रोल्पाको माडी गाउँपालिकाले क्रिश्चियन धर्म प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको तथ्य बाहिर आएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

रोल्पाका टोलटोलमा चर्च स्थापना गरेका ईशाइ धर्मावलम्बीका लागि स्थापना गरिएका ‘मण्डली भवन’ निर्माणका लागि गाउँसभाबाटै बजेट छुट्याइएको हो।

माडी गाउँपालिका वडा नम्बर ५ मा मन्डली भवन निर्माणका लागि ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी वडा नम्बर १ मा ‘काफलनेटा मन्डली भवन’ निर्माणका लागि ८० हजार छुट्याइएकोमा विवाद आएपछि रकम सोही प्रयोजनमा खर्च हुने गरी अहिले योजनाको नाम भने फेरिएको छ। कागजमा ‘काफलनेटा मन्डली भवन’ नाम परिवर्तन गरेर ‘काफलनेटा टोल फिल्ड निर्माण’ भनिएको छ।

माडी गाउँपालिकाभित्रका धेरै विद्यालयमा भवन छैन, फर्निचर छैनन् तर जनप्रतिनिधिले मन्डली भवनमा बजेट खर्चिरहेका छन्।

‘साझा क्षेत्रमा छुट्याउनुपर्ने बजेट कुनै एक धर्म विशेषका लागि छुट्टिनु राम्रो होइन,’ माडी गाउँपालिका घर भएका कांग्रेस रोल्पाका पूर्व सभापति कृष्णबहादुर घर्तीमगर भन्छन्। –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस