कलंकी-कोटेश्वर चक्रपथ पैदलयात्रुका लागि यसकारण असुरक्षित

पत्रपत्रिकाबाट

शुक्रबार, २६ माघ २०७४, ०६ : ४९
कलंकी-कोटेश्वर चक्रपथ पैदलयात्रुका लागि यसकारण असुरक्षित

काठमाडौं । निर्माणाधिन कलंकी-कोटेश्वर चक्रपथ सडकमा पैदलयात्रु असुरक्षित भएको सडक सुरक्षा अभियन्ताले बताएका छन् ।

चिनियाँ सरकारको सहयोगमा निर्माण भइरहेको चक्रपथको डिजाइन नै गलत भएकाले पैदलयात्रु असुरक्षित भएको उनीहरुको दाबी छ । आजको नागरिक(काष्ठमण्डप)मा यो खबर छापिएको छ ।

सडकमा छुट्टै साइकल लेनको माग गर्दै अभियान चलाइरहेका इन्जिनियर भूषण तुलाधर निर्माणाधीन चक्रपथ सडकको डिजाइन त्रुटिपूर्ण भएकाले पैदलयात्रु असुरक्षित बनेको दाबी गरे ।

डिजाइनअनुसार चक्रपथ ५० किलोमिटर प्रतिघण्टा गुड्ने गरी तयार पारिएको तर पैदलयात्रुका लागि पर्याप्त जेब्रा क्रस, मिडियन र अकासे पुल नभएको उनको दाबी छ ।

सवारीसाधन गुडाउँदा धेरै दुर्घटनाको सम्भावना रहन्छ, उनले भने, त्यसैले सहरभित्रका सडकमा उच्च गतिका सवारीसाधन गुडाउन निषेध गर्नुपर्ने देखिन्छ ।

सडक विभाग वैदेशिक समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले यसअघि भएको चक्रपथको डिजाइनमा केही कमी कमजोरी भएको स्विकारे ।

प्रतिक्रिया दिनुहोस