हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

रासस

बुधबार, २५ मंसिर २०७६, १८ : ११
हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

भीमदत्तनगर । जङ्गलमा घाँस काट्न गएकाले बेला जङ्गली हात्तीको आक्रमणबाट आज कञ्चनपुरको दोधारा चाँदनीका दुईजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको महाकाली नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्ट र ५० वर्षीया भुरी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

प्रहरीले स्थानीय अस्पतालमा उपचारका क्रममा बोहराको मृत्यु भएको जनाएको छ । “बिहानै गाउँका महिला समूहमा जङ्गल गएर घाँस काटिरहेका बेला एक्कासि हात्तीहरुको बथानले आक्रमण गर्दा दुई महिलाको मृत्यु हुन पुग्यो”, उहाँले भन्नुभयो, “आक्रमणबाट स्थानीय चारजना महिला घाइते भएका छन् ।”

घाइते हुनेमा महाकाली नगरपालिका–२ कै ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशिला बम रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईको भारतको खटीमा र दुई जनाको भीमदत्तनगरस्थित  महाकाली अस्पतालमा उपचार हुँदैछ । “२०/२५ जना महिलाको समूह घाँस काट्न जङ्गल पसेका थियौँ”, स्थानीयवासी शान्ति ओझाले भन्नुभयो, “एकछिन त जङ्गलमा सन्नाटा नै मच्चियो ।”
भागेर ज्यान जोगाएकी ओझाले जङ्गलबाट निस्केलगत्तै प्रहरीमा खबर गरेको बताउनुभयो । केही महिनाअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा पनि जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धले ज्यान गुमाएका थिए भने हात्तीकै आक्रमणबाट यहाँको बेदकोट नगरपालिकाकी एक महिला पनि केही दिनअघि घाइते हुनुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस