चश्मा लगाएर काम गर्दैमा आँखा सुरक्षित हुँदैन : डा. मनिषा श्रेष्ठ (अन्तर्वार्ता)

हिरालाल आचार्य ‘डायमण्ड’

मंगलबार, २४ मंसिर २०७६, १४ : ५०
चश्मा लगाएर काम गर्दैमा आँखा सुरक्षित हुँदैन : डा. मनिषा श्रेष्ठ (अन्तर्वार्ता)

चितवन । पछिल्लो समय आँखाका बिरामीहरु बढ्दै गएका छन् । धेरै जसोको आँखामा चश्मा देखिन्छ । हाम्रो बदलिँदो व्यवहारले गर्दा नै चश्मा लगाउनुपर्ने मानिसहरु बढिरहेको भरतपुर आँखा अस्पतालकी बाल आँखा रोग विशेषज्ञ मनिषा श्रेष्ठ बताउँछिन् ।

प्रस्तुत छ, डा. श्रेष्ठसँग सफल खबर संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’ ले गरेको कुराकानी :

चश्मा लागाउनु पर्ने आँखाका बिरामीहरु बढिरहेका छन् । यसका कारणहरु केके हुन् ?
हो, पछिल्लो समय चश्मा लागाउनु पर्ने आँखाका बिरामीहरु बढिरहेका छन् । बाहिरी क्रियाकलाप (आउटडोर एक्टिभिटिज) भन्दा भित्री क्रियाकलाप (इन्डोर एक्टिभिटिज) बढी हुनु नै यसको मुख्य कारण हो । लामो समयसम्म कम्प्युटर, मोबाइल, टिभी लगायतका स्क्रीनमा हेर्नु पनि हो ।

उमेर बढ्दै गएपछि आँखामा समस्या देखिन्छ । आँखामा समस्या आउनुमा कतिपय वंशाणुगत कारणहरु पनि छन् । यसैगरी बढ्दो प्रदुषण, धुलो, धुवाँका कारण आँखाका बिरामी बढिरहेका छन् । आँखामा चोटपटक लागेर पनि विभिन्न समस्या आउँछन् ।

आँखामा के के समस्या पाइएका छन् ?
धेरै मान्छेमा देखिने र एकदम सरुवा रोग भनेको आँखा पाक्ने रोग हो । त्यो रोग भाइरसले गर्दा हुन्छ । विशेषगरी संक्रमित व्यक्तिले सरसफाइमा ध्यान दिनुपर्छ । आँखा छोइसकेपछि राम्रोसँग हात धुनुपर्छ । जसले गर्दा परिवारका अरु सदस्यलाई सर्ने संभावना कम हुन्छ । लापरवाही हुँदा परिवारका अन्य सदस्यलाई सर्ने, छिमेकीलाई सर्ने र ठूलो रुप लिने हुन्छ ।

अरु धेरै देखिनेमा दृष्टि दोष, मोतिविन्दु, जलविन्दु लगायतका रोग पर्छन् । आँखा सुख्खा हुने, पोल्ने, एलर्जी हुने लगायतका समस्या लिएर आउने बिरामीहरु पनि बढ्दै गइरहेका छन् । आँखामा चोटपटक लागेर पनि समस्या देखिएको छ । आँखामा चोटपटक लागेको छ भने आँखा जाँच गराउनु पर्छ । सामान्य चोट भएपनि पछि इन्फेक्सन भएर दृष्टि गुम्ने समस्या आउन सक्छ ।

उच्च रक्तचाप, सुगरका बिरामीहरुमा आँखाको समस्या देखिन्छ । यी रोग लागेका मानिसहरुले अनिवार्य रुपमा वर्षको एकपटक आँखा जाँच गराउनु पर्छ । त्यस्तो रोगले आँखामा ठूलै असर पार्ने संभावना हुन्छ । बेलैमा उपयुक्त उपचार नभए दृृष्टि नै गुम्न सक्छ ।

बच्चाहरुको आँखामा देखिने समस्या, कारण र बच्ने उपाय केके छन् ?
बच्चाहरुको आँखामा देखिने मुख्य समस्या भनेको दृष्टि दोष हो । जसले गर्दा चश्मा लगाउनु पर्ने हुन्छ । त्यो समस्या जति सक्दो छिटो बच्चाहरुमा भएको थाहा पाउन सकियो भने बाल अन्धोपन हुनबाट बचाउन सकिन्छ । त्यसैले अभिभावक बेलैमा सचेत भएर बच्चाहरुलाई तीन वर्ष अगाडि अर्थात विद्यालय भर्ना गर्नुपूर्व बच्चाको आँखा जाँच गराउन अस्पताल लैजानुपर्छ । 

बेलैमा समस्या पत्ता लगाएर उपयुक्त चश्मा दिन सकियो भने आँखा नदेख्ने समस्या आउनबाट बचाउन सकिन्छ । यदि उपचार गरी चश्मा दिन ढिला भयो भने जीवनभरका लागि दृष्टि गुम्न सक्छ । गर्भवती महिलाले कुनै औषधि खाँदा पनि बच्चाको आँखामा असर गर्न सक्छ । 

टिभी र मोबाइलका कारण बच्चाको आँखामा विभिन्न समस्या देखिएका छन् । कोठाभित्रै बस्दा, स्क्रीनमा मात्र समय बिताउँदा पनि बालबालिकामा दृष्टि दोषको समस्या आउँछ । अभिभावकले बच्चाहरुलाई कोठाभित्र मात्र राख्ने नभई बाहिर पनि खेल्न दिनुपर्छ । 

बच्चाहरुले कोठाभित्रैबस्नु भन्दा पनि बाहिरी वातावरणमा बढी समय बिताउनु राम्रो हुन्छ । अहिलेका बच्चाहरु कोठाभित्र मात्र बस्ने र स्क्रीनमा मात्र समय बिताउने, खेलकुदहरु कम भएर उनीहरुको आँखाको दृष्टिमा मात्र नभएर समग्र स्वास्थ्यको विकासमा पनि समस्या भइरहेको छ । यस्तो बानीले शारीरिक र मानसिक दुवै असर गरेको छ ।

कम्प्युटर चलाएर काम गर्ने मान्छेले आँखाको सुरक्षा कसरी गर्ने ?
कम्प्युटर, ल्यापटपमा काम गर्ने मानिसहरुले लगातार स्क्रीनमा हेरिरहनु हुँदैन । एकएक घण्टाको अन्तरमा भएपनि ५ मिनेट आराम गर्नुपर्छ । कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका स्क्रीनमा हेरेर धेरै समय बिताउने जो सुकै मानिसको आँखामा सुख्खापनको समस्या देखिने गरेको छ । 

स्क्रीनमा हेरेर काम गरिरहनु पर्ने मानिसहरुले बेलाबेलामा आँखाको जाँच गराउनु राम्रो हुन्छ । आँखा सुख्खा भएको महसुस हुने बित्तिकै आँखा जाँच गराउन अस्पताल जानुपर्छ । जाँच गराउने र कुन अवस्थामा छ, त्यही अनुसारको उपचार गर्नुपर्छ । 

चश्मा लगाएर कम्प्युटरमा काम गरेपछि सुरक्षित भइन्छ भन्छन्, नि । के यो सत्य हो ?
होइन । चश्माले घाम, धुलो, धुवाँ र चोटपटक लाग्नबाट बचाउने हो । यो एउटा सुरक्षाको माध्यम हो । त्यस्तै पावरवाला चश्माले आँखा नदेख्नेहरुलाई आँखा देख्न थप सहज पार्ने हो । जसले अन्य रोग नियन्त्रण गर्न सक्दैन । चश्मा लगाएर स्क्रीनमा हेर्दा पूर्णरुपमा होइन एक प्रतिशतमात्र सुरक्षित हुन सकिन्छ ।

चश्मा लगाएपछि आँखामा सुख्खापन आउँदैन र अरु रोग लाग्दैन भन्ने कुनै वैज्ञानिक आधार छैन । चश्मा लगाए पनि नलगाए पनि आँखामा सुख्खापन आउँछ । अन्य रोगहरु लाग्छ । त्यसैले चश्मा लगाए पनि काम गर्दा आँखालाई बेलाबेलामा आराम दिनु पर्छ ।

धेरै चम्किलो वस्तुमा हेर्दा भने कालो चश्मा अनिवार्य लगाउनु पर्छ । बाटोमा हिँड्दा घाम र धुलोबाट बच्नको लागि पनि चश्मा लगाउन सकिन्छ ।

आँखामा सुख्खापन आएको कसरी थाहा पाउने ?
आँखा पोल्ने, बिझाउने, रातो हुने, आँखा झिम्काउँदा शीतल अनुभव हुने, आँखा बन्द गर्दा बालुवा हाले जस्तो अनुभव हुनेभयो भने सुख्खापन भएको बुझ्नुपर्छ ।

पावरवाला चश्मा कहिले लगाउने कहिले नलगाउने गर्नु हुन्छ कि हुँदैन ?
पावरवाला चश्मा नियमित प्रयोग गर्न भनेर नै दिने हो । नियमित प्रयोग गर्दा नै राम्रो हुन्छ । अनियमित प्रयोग गर्दा पावर स्टेबल नहुने हुन्छ । जसले गर्दा झन् छिटोछिटो चश्माको पावर बढाउनु पर्ने हुन्छ । 

उमेर बढेसँगै आँखामा चश्मा लगाउनुपर्ने हुन्छ ?
उमेर बढेसँगै आँखामा पनि परिवर्तन आउँछ । जुन साधारण परिवर्तन हो । ४० वर्ष कटेपछि चाहीँ मान्छेलाई नजिक पढ्न गाह्रो हुन्छ । त्यो अवस्थामा चाहीँ चश्मा लाउनु पर्ने हुन्छ । त्यो भनेको उमेर सँगैको शारीरिक परिवर्तन हो । त्यो रोग होइन । बुढो हुँदै गएपछि मान्छे बिस्तारै कपाल फुल्दै जाने, कुप्रो हुँदै जाने, त्यो त उमेरले भएको कुरा हो । त्यस्तै आँखामा पनि उमेरले प्रभाव पार्छ । त्यसैले उमेर बढेसँगै चश्माको पावर बदलिरहनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस