हिंसामा परेका चेली र चितवनका न्यायाधीशबीच यस्तो सवाल जवाफ

सफल खबर संवाददाता

सोमबार, २३ मंसिर २०७६, १७ : ३४
हिंसामा परेका चेली र चितवनका न्यायाधीशबीच यस्तो सवाल जवाफ


चितवन । 
१) हिंसामा परेकी चेली नितु (नाम परिवर्तन) 

–नमस्कार, मेरो नाम ........हो । अहिले म एउटा संस्थामा आश्रित छु । घरभित्र सुरक्षित छैनन् नारी । त्यस्तै असुरक्षितमा म परेँ । नारी भएर जन्मनु नै अभिसाप होजस्तो मलाई लाग्छ । म शारीरिक, मानसिक विभिन्न हिंसाबाट पीडित बने । मैले कानुनी उपाय खोज्दै अदालतको ढोकासम्म पुगेँ । मलाई जसले यो हालतमा लग्यो, त्यो अहिले जेलमा छ, केही न्याए पाएको महसुुस भएको छ, तर मैले क्षतिपूर्ति पाएको छैन ? क्षतिपूर्ति नपाउँदा पूरा न्याय मिलेको छैन । 

जवाफ : चितवनका जिल्ला न्यायाधीश हेमन्त रावल 

पीडित चेलीको कुराले मलाई गम्भीर बनायो । कतिपय मुद्दाहरु अदालतबाट फैसला हुन ढिलाइ भइरहेको छ । कति ढिलो फैसला हुँदा पनि कार्यान्वयन हुन सकेको छैन । उहाँ बहिनीको अदालतबाट फैसला भएर पनि अपराधी जेल जीवन बिताइरहेका रहेछन् । जहाँसम्म क्षतिपूर्तिको कुरा हो । फैसलामा के भनेको छ, त्यो हुन्छ । फैसलामा पीडकबाट क्षतिपूर्ति भराउनु भनेको छ भने अदालतमा आएर एउटा निवेदन दिनूस् क्षतिपूर्ति पाउनुहुन्छ । फैसलामा पीडकबाट क्षतिपूर्ति भराउने विषयमा केही भनिएको रहेनछ भने दुर्भाग्य हुन्छ । 

२) हिंसामा परेकी चेली सोनु (नाम परिवर्तन) 

नमस्कार, मेरो नाम ....हो । म अहिले एउटा संस्थामा आबद्ध छु । मेरो विवाह १४ वर्षमै भयो । म घरेलु हिंसामा परेँ, घरमा बस्न सक्ने वातावरण भएन । शारीरिक मानसिक यातनाहरु पाएँ । मेरो अभिभावक अहिले  संस्थामा आएकी छु । यस्तो अवस्थामा मलाई केके गर्ने अधिकार कानुनले दिएको छ न्यायाधीशज्यू ?

जवाफ : चितवनका जिल्ला न्यायाधीश हेमन्त रावल 
कानुनले तपाइँजस्ता पीडित पक्षमा बोलेको छ । गत सालबाट आएको नयाँ कानुनी संहिताले सबै अधिकार तपाइँलाई दिएको छ । तपाइँ के गर्नुहुन्छ, विवाह बदर गर्न चाहनुुहुन्छ या सदर यो तपाइँमा मात्र निहित छ, तपाइँ जे गर्न पनि पाउनुहुन्छ । घरमा ससम्मान साथ बस्न पाउनुहुन्छ, डिभोर्स गर्न पनि पाउनुहन्छ । विवाह कायम गर्ने नगर्ने अधिकार तपाइँलाई छ, तपाइँलाई अदालतले न्याय दिन्छ । 
३) हिंसामा परेकी चेली सानी (नाम परिवर्तन) 

म लामो समयसम्म घरेलु हिंसामा परे । विवाहपछि हाम्रो एक सन्तानको जन्म भयो । म घरमा बस्ने वातावरण बन्न सकेन । म शारीरिक, मानसिक, यौनिक हिंसामा परेँ । मलाई कतैबाट सहयोग मिलेन । एउटा संस्थामा आश्रय लिएकी छु । मलाई न्याय चाहियो, दिनहुन्छ न्यायाधीशज्यू ।

जवाफ : चितवनका जिल्ला न्यायाधीश हेमन्त रावल 
न्यायाधीशको काम नै न्याय दिनु हो । कुनै पनि दोषी उम्कन पाउनुहुँदैन । तपाइँ न्याय लिनलाई अदालतको ढोकासम्म आउनैपर्छ, न्याय पाउनुहुन्छ । तपाइँको एक रुपैयाँ खर्च नगरी हामी न्याय दिन तयार छौँ, आउनूहोस् तपार्इँ कस्तो न्याय खोज्दै हुनुहुन्छ । 

हिंसामा परेका चेली र न्यायाधीश हेमन्त रावलबीच यस्ता सवालजवाफ सोमबार चितवनको जिल्ला समन्वय समितिमा भएको थियो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत ‘फैसला कार्यान्वयन अदालत र सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा पीडित चेली र न्यायाधीश हेमन्त रावलबीच सवाल जवाफ भएको हो । जिल्ला समन्वय समिति चितवन र यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनले यसको चाँजोपाँजो मिलाएको हो । 

कार्यक्रमको प्रमुख अतिथि प्रदेश ३ सांसद कञ्चन खनाल, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, महिला अधिकारकर्मी मीना खरेल, खैरहनी नगरपालिका उपप्रमुख बिमला दवाडी, चितवनका वारका अध्यक्ष कमलराज पाठकलगायतले महिला हिंसाको चासो र सवालका विषयमा मन्तव्य दिएका थिए । 

प्रतिक्रिया दिनुहोस