काठमाडौँ । आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको रकम चार करोड २५ लाख रहेको पुष्टि भएको छ । मंगलबार साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) शेखर खनालका अनुसार ठुलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा चार करोड २५ लाख रकम रहेको खुलेको हो ।
त्यसैगरी सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम बरामद भएको छ । ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भएका छन् । उक्त रकम, सुनचाँदीसहित प्रहरीले गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
उक्त रकम र सुनचाँदीसहित पक्राउ परेका व्यक्ति मिटरबाजी रहेको प्रहरीले दाबी गरेको छ । काठमाडौँ महानगरपालिका-२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ ।
ठुलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १४ : १५
लेखकबाट थप