शिवनगरमा निःशुल्क क्यान्सर शिविर

सफल खबर संवाददाता

शनिबार, २१ मंसिर २०७६, १३ : १३
शिवनगरमा निःशुल्क क्यान्सर शिविर

चितवन । लायन्स क्लब अफ चितवन सेन्ट्रल, कामना सेवा विकास बैंक नारायणगढ शाखा र  शिवनगर गरिबी निवारण साना किसान कृषि सहकारीको संयुक्त आयोजनामा निःशुल्क क्यान्सर शिविर सम्पन्न गरिएको छ । 
शहरबाट केही दुरीमा रहेका महिलाहरुको स्वास्थ्यमा जनचेतना जगाउन र उपचारको पहुंँच पुर्याउन  शिविरको आयोजना गरिएको हो । स्तन तथा पाठेघर जाँच शिविरमा १ सय ३० जनाले सेवा लिएको लायन्स सेन्ट्रलका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिनुभयो  । शिविरमा ३० बर्ष देखि ६० बर्ष उमेर समुहका महिलाहरुको स्तन र पाठेघरको परीक्षण गरिएको थियो ।
शिविरमा दुईजना महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको लक्षण र ८ जनामा आङ खस्ने साथै पाठेघरको मासु पलाएको  समस्या देखा परेको स्त्री रोग बिषेशज्ञ डाक्टर मञ्जु पाण्डेले जानकारी दिनुभयो  । केही बिरामीको  स्तनमा गिर्खा, पानीको फोकाको समस्या रहेको स्तन क्यान्सर रोग बिशेषज्ञ डाक्टर सपना भण्डारीले बताउनु भयो । शिविरमा ५० जना महिलाको भिडियो एक्सरे जांँच गरिएको वरिष्ठ रेडियोलोजिष्ट डाक्टर सूर्य सापकोटाले जानकारी दिनुभयो । 
बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले सामाजिक संस्थासंँगको सहकार्यमा बैंकले काम गर्न पाउंँदा सन्तुष्टी मिलेको बताउनु भयो । सहकारीका अध्यक्ष सिर्जना पाण्डेले महिला केन्द्रीत यस खाले स्वास्थ्य शिविरले स्थानीयलाई सेवा दिनुको साथै सचेतनामा बृद्धि भएको बताउनु भयो । 
कार्यक्रममा वरिष्ठ क्यान्सर सर्जन डाक्टर गंगा सापकोटा, वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर साजन केसी, नर्स अयोध्या पाठक लगायत स्वास्थ्यकर्मीको सहभागितामा शिविर सम्पन्न भएको हो । शिविरको प्राविधिक सहयोग गर्ने संस्था बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, नवजीवन अल्ट्रासाउण्ड क्लिनिक, भरतपुर, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस