तत्कालीन माओवादीबाट खोसिँदैछ सभामुख, नेम्वाङलाई पर्ला त चिठ्ठा ?

सफल खबर संवाददाता

शुक्रबार, २० मंसिर २०७६, १६ : ३९
तत्कालीन माओवादीबाट खोसिँदैछ सभामुख, नेम्वाङलाई पर्ला त चिठ्ठा ?

काठमाडौ ।  यसअघि तत्कालीन माओवादीबाट कृष्णबहादुर महरा बनेका थिए सभामुख । संसद सचिवालयका महिला कर्मचारीलाई दुरव्यवहार गरेको आरोपमा सभामुख पदबाट उनी मुक्त भएका छन् । यतिबेला सभामुख पद खाली छ, जसका कारण विभिन्न समस्याहरु देखिन थालेका छन् । तर पनि सरकारले सभामुख चयन गर्न सकिरहेको छैन । 

महरा तत्कालीन माओवादीबाट सभामुख बनेका कारण सो पदमा पुनः सभामुख तत्कालीन माओवादीबाट बनाइनुपर्ने लबिङ चलिरहेको थियो । यो विषयलाई लिएर तत्कालीन माओवादीका नेताहरु अध्यक्ष पुष्पकमल दाहालसम्म पुगेका थिए । तत्कालिन माओवादीको तर्फबाट सभामुख बनेको कारण सोही पक्षबाट पुनः बन्नुपर्नेमा अध्यक्ष प्रचण्डले समेत साथ दिएका थिए । 

स्रोतका तत्कालीन माओवादी पक्षका नेताहरुले सभामुखमा देव गुरुङ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, ओन्सारी घर्तिमगरलगायतले दावी गरेका थिए, तर पछिल्लो पल्ट त्यो दावी उल्टो पिरामिडमा पल्टिएको छ ।

तत्कालीन माओवादीबाट सभामुख पद खोसिने अवस्था सिर्जना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अनुकूल सभामुख बनाउने अडान लिएपछि तत्कालीन माओवादीबाट सभामुख पद खोसिने अवस्था देखिएको छ । 

पछिल्लो पटक नेपाल कम्युनिस्ट पार्टी नेकपा  संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन पार्टीका अध्यक्षद्वय सकारात्मक भएका छन् ।  

अध्यक्षद्वयबीच कार्यविभाजन र मन्त्री हेरफेरकै समय दुईजनाबीच सभामुखको बारेमा पनि लगभग सहमति भएको स्रोतको दावी छ । तर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना पक्षका नेतासँग कुरा गरेर नेम्वाङलाई फाइनल गर्ने मनस्थितिमा पुगेका स्रोतको दावी छ ।

प्रधानमन्त्री ओली सरकारको काम गर्न र गराउन आफूले चाहेको व्यक्ति सभामुख हुनुपर्ने अडान राख्दै नेम्वाङको नाम लिएका छन् । 

केही समय पहिला दुई अध्यक्षबीच भएको कुराकानीमा अध्यक्ष प्रचण्डले सुवास नेम्वाङ सभामुखका लागि तयार भए आफू त्यस विषयमा सोच्न सक्ने संकेत गरेका थिए ।  नेम्वाङले एउटा सार्वजनिक कार्यक्रममा आफू सभामुख बन्न नचाहेको बताउँदै आएका छन् । 

 प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले नेम्वाङलाई बोलाएर सभामुखको विषयमा अभिव्यक्ति नदिन सुझाएका थिए । 
प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गराएर सरकारी निवास फर्किसकेका छन् । यस विषयमा अध्यक्ष प्रचण्डले चाँडै नै उनीसँग कुरा गरेर सभामुखको विषयलाई अन्तिम रुप दिने तयारी भएको छ । नेम्वाङ सभामुख पदका लागि तयार भए प्रचण्डले पनि उनकै नाममा सहमति जनाई दिने लगभग पक्का नै भइसकेको नेकपाका एक नेताले बताए ।

पार्टीका स्थायी समिति सदस्य समेत रहेका प्रमुख सचेतक देव गुरुङले नेकपाभित्र कसलाई सभामुख बनाउने भन्नेबारे अहिले संसदीय दलको बैठकमा छलफल नभएपनि शीर्ष नेताहरुको तहमा अनौपचारिक छलफल भएको बताए । 
नेता नेम्वाङले संविधान निर्माणमा राम्रो भूमिका निर्वाह गरेको तथा अनुभवी भएका कारणले उनको नामप्रति दुबै अध्यक्ष सहमत हुने संकेत देखिएको छ ।