नेपालको स्वर्ण पदक सङ्ख्या ३७, भारत सबैभन्दा अगाडि

सफल खबर संवाददाता

शुक्रबार, २० मंसिर २०७६, १३ : २५
नेपालको स्वर्ण पदक सङ्ख्या ३७, भारत सबैभन्दा अगाडि

काठमाडौँ । गोपीचन्द पार्कीले शुक्रवार बिहान ५,००० मिटर दौड जितेपछि नेपालको स्वर्ण पदक सङ्ख्या हालसम्म ३७ पुगेको छ। पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ। भारत पदक तालिकामा पहिलो छ । पार्कीले १४ मिनेट ५४.२० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

सो प्रतिस्पर्धामा भारतीय खेलाडी सुनिल दावाले रजत जिते। उनले १४ मिनेट ५५.२१ मा दौड पूरा गरे । नेपालकै हरि रिमालले १४ मिनेट ५७.०५ सेकेन्ड समय निकाल्दै काश्य पदक जिते ।

पार्कीले जितेको स्वर्ण नेपालले मध्यम दूरीको दौडमा जितेको पहिलो स्वर्ण पदक हो। यसअघि राजेन्द्र भण्डारीले सो दूरीमा सन् २००६ को दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए। तर पछि डोपिङमा परेपछि उनको पदक खोसिएको थियो।  ६४ स्वर्ण पदकसहित कुल १२४ पदक जितेर भारत पदक तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले ३७ स्वर्ण, २७ रजत र ३८ काश्यसहित कुल १०१ पदक जितेको थियो । पदक तालिकामा श्रीलङ्का तेस्रो, पाकिस्तान चौथो, बाङ्ग्लादेश पाँचौँ, माल्दिभ्स छैटौँ र भुटान सातौँ स्थानमा छन् । भुटानले अहिलेसम्म छवटा काश्य पदक मात्र जितेको छ।

प्रतिक्रिया दिनुहोस