भरतपुर महानगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच पर्यटन बिकासमा सहकार्य गर्ने सम्झौता

पर्यटन वर्ष २०२० लाई भब्य बनाउन दुबै क्षेत्रको पर्यटन बिकासमा सहकार्य गरिने

प्रकाश सिग्देल

बुधबार, १८ मंसिर २०७६, १६ : ३५
भरतपुर महानगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच पर्यटन बिकासमा सहकार्य गर्ने सम्झौता

चितवन । भरतपुर महानगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुईपक्षीय सम्झौता भएको छ । 
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीबिच पर्यटन वर्ष २०२० लाई भब्य बनाउन दुबै क्षेत्रको पर्यटन बिकासमा सहकार्य गर्ने सम्झौता भएको हो । दुबैले ११ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरी दुबै क्षेत्रको पर्यटन बिकासमा दुबै स्थानीय तहले सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका छन् । 
सम्झौतामा भरतपुर महानगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच दुबै क्षेत्रमा रहेका पर्यटकीय गन्तब्यहरुको प्रवद्र्धनका लागि सहयोग गरिने, दुबै स्थानीय तहका पर्यटन क्षेत्रसंग सम्बन्धित सूचना जानकारी एवं अध्ययन अनुसन्धानबाट पत्ता लागेका नयाँ बिषयहरुको आदान प्रदान गरिने, भरतपुर र लुम्बिनी नियमित हवाई सेवा सन्चालन गर्न आवश्यक पहल गरिने, भरतपुर महानगरको एक सडकलाई लुम्बिनी मार्ग र लुम्बिनी साँस्कृतिक नगरपालिकाको एक सडकलाई भरतपुर मार्गका रुपमा नामाकरण गरिने, दुबै पालिकाका सहरहरुलाई सफा सुन्दर स्वच्छ र पर्यटनमैत्री बनाउनका लागि प्लास्टिक झोला, सुर्तीजन्य पदार्थ आदि मुक्त क्षेत्र घोषणा गरिने, दुबै नगरपालिकाको बिकासमा अध्ययनहरुबाट प्राप्त सिकाईको आदान प्रदान गरी सफल अभ्यासको अवलम्बन गरिने, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन एवं भ्रमण समेतका बिषयहरु संयुक्त रुपमा अगाडि बढाइने उल्लेख छ ।


दुबै पालिकाले निर्माण गरेका पर्यटन गुरुयोजना आदान प्रदान गर्ने, दुबै नगरपालिकाले आयोजना गरेका बिशेष कार्यक्रममा एक अर्कालाई आमन्त्रण गर्ने, भरतपुर महानगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाको यातायात ब्यवस्थापन गर्न ब्यवस्थित पर्यटकीय बस सेवा सन्चालनलाई नियमित र ब्यवस्थित गर्ने, यी दुबैको क्षेत्रभित्र रहेका तालतलैया, नदी, प्राकृतिक सम्पदा, धार्मिक तथा साँस्कृतिक क्षेत्रको बिकास तथा प्रवद्र्धनमा जोड दिइने रहेको छ ।
सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर चौधरीले भरतपुर महानगर प्रमुखसहितको टिमलाई लुम्बिनी भ्रमणको निम्तो दिनु भयो । उहाँले भरतपुर महानगरको साथ आफूहरुलाई चाहिएको बताउँदै आवश्यक सहयोग गरिदिन पनि आग्रह गर्नु भयो । ८ वटा गाबिस र त्यहाँ रहेका १२० वटा गाउँ मिलेर लुम्बिनी साँस्कृतिक नगरपालिका बनेको बताउँदै मेयर चौधरीले आफ्नो नगरपालिकाका सबै क्षेत्र भ्रमण गरी पर्यटन वर्ष २०२० लाई सफल पारिदिन पनि आग्रह गर्नु भयो ।


भरतपुर महानगर प्रमुख रेनु दाहालले आफुहरुले भ्रमण वर्षलाई लक्षित गरी धेरै कार्यक्रमहरु तयार पारेको र पुसको अन्त्यतिर बृहत कार र्यालीसहित लुम्बिनी भ्रमणको तयारी भएको बताउनु भयो । चितवनमा २७ वटा महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेकोले लुम्बिनी आउने पर्यटकलाई चितवनको भ्रमण गर्न उत्प्रेरणा जगाउन लुम्बिनी साँस्कृतिक नगरपालिकाको टिमलाई आग्रह गर्नु भयो । 
मेयर दाहालले भ्रमण वर्ष लक्षित गरी भरतपुरमा पर्यटन सूचना केन्द्र्र र पर्यटकीय स्तम्भ निमार्ण गर्न लागेको समेत बताउनु भयो । कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाको तर्फबाट पत्रकार हेमबहादुर बिष्टले लुम्बिनी २५ भन्दा बढी देशको साँस्कृतिक केन्द्र भएको र यहाँ बार्षिक १६ लाख पर्यटकले भ्रमण गर्न आउने गरेको बताउँदै लुम्बिनीको बिकासमा चितवनले साथ दिनु पर्ने बताउनु भयो ।


भरतपुर महानगरका तर्फबाट पर्यटनविद बिश्व सुबेदीले भरतपुर महानगरका २७ पर्यटकीय गनत्व्यको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले स्वागत मन्तव्य राख्नु भएको थियो ।   

प्रतिक्रिया दिनुहोस