लिबियामा बालबालिकाको हत्या भएकोप्रति युनिसेफद्वारा निन्दा

एजेन्सी

मंगलबार, १७ मंसिर २०७६, १३ : ५०
लिबियामा बालबालिकाको हत्या भएकोप्रति युनिसेफद्वारा निन्दा

त्रिपोली । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ । 
लिबियाको राजधानी त्रिपोलीबाट दक्षिणतर्फको एक नगर युम अल अरानिबमा सोमबार तथा त्यस अघिल्ला केही दिनहरुमा भएको हवाई हमलाका क्रममा ती बालबालिकाको हत्या भएको थियो ।
 
बालबालिका मारिएको यस घटनाको विश्वका अरु देशहरुले पनि निन्दा गरेका छन् । युनिसेफले मङ्गलबार प्रकाशित विज्ञप्तिमा सो घटनाको निन्दा गर्दै उक्त समाचारले अत्यन्तै दुःख लागेको जनाइएको छ । 

हवाई कारबाहीका क्रममा निर्दाेष बालबालिकाको ज्यान जानु अत्यन्तै दुःखद घटना हो भन्दै यसबाट घाइते भएकाहरुको उपचारका लागि सरकारले उचित प्रबन्ध गरोस् भनी सो विज्ञप्तिमा माग गरिएको छ । 
युनिसेफले लिबियामा हिंसा मच्चाइरहेका विद्रोहीहरुलाई युद्धका क्रममा यसरी बालबालिकालाई तारो नबनाउन र युद्धका क्रममा पनि मानवीयतासम्बन्धी सहयोगको विषयमा हेक्का राख्न आग्रह गरेको छ ।
युद्धमा बालबालिका कुनै पनि किसिमले प्रभावित नहोउन् भनेर पनि युनिसेफले विशेष आग्रह गरेको सो विज्ञप्तिमा जनाइएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

लिबियामा अहिले संयुक्त राष्ट्रसंघको सहयोगमा बनेको सरकार छ । उक्त सरकारका सेनाले गएको आइतबार विद्रोहीहरुले गरेको आक्रमणका क्रममा १४ जना बालबालिका र दुई महिलाको ज्यान गएको जानकारी दिएका थिए । 
सो आक्रमणमा परी अरु पनि कैयौँ नागरिक घाइते भएका बताइएको छ । त्यहाँ विद्रोेहीहरुले हरेक दिनजसो आक्रमण गर्ने गरेका छन् जसका कारण कैयौँ नागरिकको ज्यान जाने गरेको छ । 
गएको आठ महिनामा लिबियामा हिंसाका घटनाहरु बढेका छन् । यसका कारण हजारौँ नागरिकको ज्यान गएको छ । यहाँ हाल संयुक्त राष्ट्रसंघको सहयोगको सरकार रहेको छ । 

तर पनि विद्रोहीहरुले हिंसा त्यागेका छैनन् । उनीहरुको हिंसामा परी एक लाख २० हजार भन्दा बढी नागरिक विस्थापित भएका छन् । 
यसरी विस्थापित हुनेहरु कतिपय स्वदेशमै शरणार्थीका रुपमा बसिरहेका छन् भने कतिपयले भने देशै छोडेर भागेका छन् ।
लिबियाका विद्रोहीहरुलाई हिंसा त्यागेर शान्तिपूर्ण रुपमा समाधान खोज्नका लागि संयुक्त राष्ट्रसंघ र अमेरिकाले पनि बारम्बार आग्रह गर्दै आएका छन् । 
तर पनि उनीहरु तयार भएका छैनन् । संयुक्त राष्ट्रसंघले समय समयमा अघि सारेका शान्तिपूर्ण वार्ताका प्रयासहरु पनि सफल हुन सकेका छैनन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस