मुख्यमन्त्रीका लागि ओलीले गरेनन् सहमतिको निर्णायक प्रयास

पत्रपत्रिकाबाट

विहीबार, २५ माघ २०७४, ०७ : २४
मुख्यमन्त्रीका लागि ओलीले गरेनन् सहमतिको निर्णायक प्रयास

एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन्। मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित शीर्ष नेताले अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका हुन्। मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सांसदलाई छुट्टाछुट्टै भेट गर्दै चुनाव जित्ने लबिङमा व्यस्त छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

एमालेले प्रदेश १ र ३ मा दलको नेता चयनका लागि शुक्रबार (भोलि) बैठक डाकेको छ। त्यस्तै, प्रदेश ४ मा संगठन कमिटीले २८ गते बैठक डाकेको छ। तीनवटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी नेताहरूबीच दलको नेतामा कडा प्रतिस्पर्धा छ। अघिल्लो साता बसेको स्थायी समिति बैठकले प्रदेश सभा दलको चुनावका लागि कार्यविधि तय गरेको थियो।

मुख्यमन्त्रीका आकांक्षीलाई एक्लाएक्लै भेटेर कुरा सुन्ने र सकभर सहमति खोज्न सुझाब दिनेबाहेक अध्यक्ष ओलीले अहिलेसम्म निर्णायक प्रयास गरेका छैनन्। उनले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेललगायत नेतासँग बसेर निर्णायक छलफल नगरेका कारण सर्वसम्मत दलको नेता टुंगिने सम्भावना लगभग समाप्त भएको एक नेताले बताए। यद्यपि, सचिवालय सचिव प्रदीप ज्ञवालीले सहमति जुटाउन अनौपचारिक प्रयास जारी रहेको जानकारी दिँदै अहिलेसम्म सर्वसम्मतको वातावरण बनिनसकेको बताए। ओलीले आकांक्षीहरू शाक्य, पाण्डे, आचार्य, राईसहित सबै नेतालाई एक्लाएक्लै राखेर एक चरण छलफल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस